झन् गम्भीर बन्दै छ रुघाखोकी

कान्तिपुर दैनिक १२ माघ २०७५

कुनै खास रोग को इतिहास नरहेका स्वस्थ युवा र अधबैँसेहरू ले समेत एस पटक स्वाइन फ्लु को संक्रमण का कारण निमोनिया लगायत का जटिलता सँगै मृत्युवरण गरेको देखिएको छ । स्वाइन फ्लु ले फरक किसिम को समस्या उत्पन्न गर्न थालेको संकेत हो यो । -डा. शेरबहादुर पुन,शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल

अतुल मिश्र । काठमाण्डू ।  रुघाखोकी वर्षमा एकदुई पटक प्राय: सबैलाई लाग्ने गर्छ । सबैजसोले मौसमी यो संक्रमणलाई सामान्य रूपमै लिने पनि गर्छन् । तर, अब रुघाखोकीबारे यस्तो मान्यता बदल्नुपर्ने बेला आएको छ । चिकित्सकहरू यस्तै भन्छन् र सरकारी तथ्यांक पनि कम डरलाग्दो छैन । यस पटक मौसमी रुघाखोकीअन्तर्गतको स्वाइन फ्लुले पाँच जनाको ज्यान लिइसकेको छ । अर्कातिर, यसरी ज्यान गुमाउनेहरूको वास्तविक संख्या सरकारी दाबीभन्दा धेरै बढी हुन सक्ने स्वास्थ्यकर्मीहरूको अनुभव छ ।

हाल हाम्रो मुलुकमा मौसमी रुघाखोकी फैलाउने भाइरसहरू ए (एच१एन१) पीडिएम ०९, ए (एच३एन२) र भाइरस बी फैलिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) का निर्देशक डा. हरीशचन्द्र उप्रेती बताउँछन् । मौसमी रुघाखोकी उत्पन्न गर्ने स्वाइन फ्लु भाइरसको प्राविधिक नाम भाइरस ए (एच१एन१) पीडिएम ०९ हो । हङकङ फ्लुको प्राविधिक नाम चाहिँ ए (एच३एन२) हो ।

पीडितहरूमा यो बेला सबैभन्दा बढी स्वाइन फ्लु अनि अलिअलि हङकङ फ्लु र भाइरस बी भेटिएको छ । नोभेम्बर र डिसेम्बरको तुलनामा जनवरीमा मौसमी रुघाखोकी पीडितहरूले घाँटीको र्‍याल परिक्षण गराउने क्रममा तेब्बर वृद्घि भएको छ । जनवरी १ देखि २२ सम्म एनपीएचएलमा रुघाखोकीको लक्षण भएका ४ सय ३१ जनाको घाटीको र्‍याल परीक्षण गर्दा ४९ प्रतिशतमा स्वाइन फ्लु, ४ प्रतिशतमा हङकङ फ्लु र ५ प्रतिशतमा इन्ºलुएन्जा बी पाइएको हो ।

‘ºलु नेटको तथ्यांक हेर्दा विश्वमा २० प्रतिशत मात्र इन्फ्लुएन्जा पोजेटिभ देखिए पनि हामीकहाँ ५० प्रतिशतभन्दा बढी पोजेटिभ पाइएको छ,’ डा. उप्रेती भन्छन्, ‘यसबाट थाहा हुन्छ, इन्फ्लुएन्जा ए (एच१एन१) हामीकहाँ अहिले प्रकोपकै अवस्थामा छ ।’

नेपालमा भेटिएका स्वाइन फ्लु, हङकङ फ्लु र इन्फ्लुएन्जा बी मानिसबाट मानिसमा सर्ने प्रजाति (स्ट्रेन) का हुन् ।

‘यो स्ट्रेन पक्षी वा जनावर (बंगुर/सुँगुर) बाट आएको होइन, यसैले बढी जोखिमपूर्ण छैन,’ डा. उप्रेती थप्छन्, ‘पक्षी वा जनावरको प्रजातिबाट आएको इन्फ्लुएन्जा (रुघाखोकी) ले ७० प्रतिशतभन्दा बढी मृत्यु गराउन सक्छ ।’

प्रयोगशाला प्रमाणित स्वाइन फ्लुबाट काठमाडौंका ओम अस्पताल, हिमाल अस्पताल, स्टार अस्पताल, मोडेल अस्पताल, काठमाडौं मेडिकल कलेज (सिनामंगल) को आईसीयूमा एक–एक जना गरी पाँच जनाको मृत्यु भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लाल स्विकार्छन् । तर, स्वास्थ्यकर्मीहरूले मृत्यु हुनेको वास्तविक संख्या सरकारले बताएभन्दा झन बढी रहेको आंैल्याउँदै प्रभावित, जटिल स्थितिमा पुगेकाहरूको संख्या उल्लेख्य रहेको बताएका छन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन मौसमी रुघाखोकीअन्तर्गतको स्वाइन फ्लुबाट प्रभावित भएर उपचार गर्न र परामर्श लिन आउनेहरूको संख्यामा बढोत्तरी भएको बताउँछन् । स्वाइन फ्लु भएकाहरूको निकट सम्पर्कमा रहेकाहरूसमेत सम्भावित स्वास्थ्य समस्यालाई दृष्टिगत गरी परामर्श लिन चिकित्सककहाँ पुग्ने गरेका छन् ।

‘यस पटक कुनै खास रोगको चिकित्सकीय इतिहास नरहेका स्वस्थ युवा र अधबैँसेहरूले समेत स्वाइन फ्लुको संक्रमणका कारण निमोनिया लगायतका जटिलतासँगै मृत्युको मुखमा पुगेको देखिएको छ,’ डा. पुन भन्छन्, ‘स्वाइन फ्लुले फरक किसिमको समस्या उत्पन्न गर्न थालेको संकेत हो यो ।’ मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) उत्पन्न गर्ने भाइरसहरू मध्ये हाल स्वाइन फ्लु केही कडा रूपमा प्रस्तुत भएको उनी बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससमेत मौसमी रुघाखोकीको समस्या यस पटक बढेको आंैल्याउँदै स्वाइन फ्लु कडा रूपमा देखिएको जनाउँछन् । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, गम्भीर संक्रामक रोग मौसमी रुघाखोकीले गर्दा प्रभावित व्यक्ति अस्पताल भर्ना हुन बाध्य हुनुसँगै उसको मृत्युसम्म हुन सक्छ । विश्वव्यापी रूपमा रुघाखोकीको वार्षिक महामारीले गर्दा अधिकतम ५० लाख कडा बिरामी र श्वास–प्रश्वासको समस्याले ६ लाख ५० हजार जनाको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमान छ ।

रुघाखोकीका चार किसिमका भाइरस

डब्लूएचओका अनुसार, मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) उत्पन्न गर्ने भाइरस टाइप ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका छन् । मुख्य रूपमा इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ भाइरस ले यो संक्रमण फैलाउँछन् ।

अचेल मानिसमा फैलिरहेको इन्फ्लुएन्जा ‘ए’ भाइरसको सब–टाइप ए (एच१एन१ : स्वाइन फ्लु) र ए (एच३एन२ : हङकङ ºलु) हो ।

इन्ºलुएन्जा ‘ए’ भाइरसलाई मात्र महामारी उत्पन्न गर्ने कारक मानिन्छ । इन्फ्लुएन्जा ‘बी’ भाइरसलाई सब–टाइपका रूपमा वर्गीकृत गरिएको छैन । इन्फ्लुएन्जा ‘सी’ भाइरसले दु:ख दिएका मानिस निकै कम भेटिने गरेका छन् । सी भाइरसका कारण सामान्यत: हल्का संक्रमण हुने गर्छ । यसैले गर्दा यो भाइरसलाई सार्वजनिक स्वास्थ्यअन्तर्गत खासै महत्त्व दिइँदैन । इन्फ्लुएन्जा ‘डी’ भाइरसले चाहिँ मुख्यत: घरपालुवा जनावरलाई प्रभावित गर्ने गर्छ । यसैले यो भाइरसलाई मानिसमा संक्रमण वा रोग उत्पन्न गर्ने कारकका रूपमा लिइँदैन ।

रोग देखिने र अन्यलाई संक्रमित पार्ने समय

रुघाखोकीको संक्रमण भएदेखि अर्थात् शरीरमा भाइरस प्रवेश गरेदेखि बिरामी हुन्जेलसम्मको समय (इन्क्युबेसन पिरियड) सामान्यत: दुई दिन हुन्छ । तर यो अवधि एक दिनदेखि चार दिनसम्मै पनि छोट्टिन वा तन्किन सक्छ ।

रुघाखोकी लागेका व्यक्ति बिरामी भएको पहिलो तीनचार दिन धेरै संक्रामक हुने गर्छन् । यस्तै, स्वस्थ वयस्क व्यक्तिले आफ्नो शरीरमा रुघाखोकीको लक्षण देखिनुभन्दा एक दिनअगावैदेखि अन्य व्यक्तिलाई संक्रमित पार्न सक्छन् भने बिरामी भएको पाँच–सात दिनसम्म अन्यलाई रोग सार्न सक्छन् ।

तर, रोगप्रतिरोधी क्षमता कम भएका केही व्यक्तिले रुघाखोकीबाट अझ बढी समयसम्म अन्य व्यक्तिलाई संक्रमित पार्न सक्छन् ।

खोप, स्वच्छता र एन्टिभाइरल औषधि

सीडीसीले रुघाखोकीविरुद्घको लडाइँमा खोप, स्वच्छता र एन्टिभाइरल औषधिको समुचित प्रयोग गरेर तीन वटा कदमा चाल्न आवश्यक रहेको औँल्याएको ।

विश्वको जुनसुकै ठाउँमा भए पनि रुघाखोकीसँग भिड्न बर्सेनि यसविरुद्घको खोप लगाउनुपर्छ । रुघाखोकीविरुद्घको लडाइँमा यो पहिलो र निकै महत्त्वपूर्ण प्रभावकारी पाइला हो ।

यस्तै, दैनिक जीवनमा रुघाखोकीको जीवाणुलाई फैलिन नदिन सरसफाइ लगायतका आवश्यक प्रक्रिया अपनाउनुपर्छ । नियमित रूपमा साबुनपानीले हात घुने, खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, संक्रमित व्यक्तिबाट एक मिटर टाढै बस्नेजस्ता सावधानी अपनाउनुपर्छ । र, तपाईंका चिकित्सकले प्रस्तावित गरे रुघाखोकीविरुद्घको एन्टिभाइरल औषधि खानुपर्छ ।

‘मौसमी रुघाखोकीबाट जोगिन खोप र व्यक्तिगत स्वच्छताको उपायअपनाए धेरै हदसम्म यसले उत्पन्न गर्न सक्ने जटिलताबाट बच्न सकिन्छ,’ डा.दास भन्छन् ।

मौसमी रुघाखोकीबाट बचाउकोसबैभन्दा प्रभावकारी उपाय नियमित रूपमा बर्सेनि ‘फ्लु’ विरुद्घको खोप लगाउनु हो । करिब ६ दशकदेखि ºलुविरुद्घको सुरक्षित र प्रभावकरी खोप प्रयोगमा आइरहेको छ । इन्फ्लुएन्जा भाइरस परिवर्तन भइरहेकोले बर्सेनि खोप चाहिने गरेको आँैल्याउँदै डा. पुन थप्छन्, ‘आगामी वर्ष कुन भाइरसको प्रसार होला भनी अनुमान गरेर खोप निर्माताहरूलाई भनिन्छ र भ्याक्सिन

तयार हुन्छ ।’

इन्फ्लुएन्जा भाइरस को विश्वभरि नै निरन्तर अनुगमनसमेत गरिराखिएको हुन्छ । यसको नयाँ प्रजाति आएको छ कि छैन, यो मानिसबाट मानिसमा सर्न सक्छ कि सक्दैन भनेर बर्सेनि अनुगमन गरिँदै आएको डा.पुन बताउँछन् ।

मौसमी रुघाखोकीविरुद्घको खोप ‘इन्जेक्सन’ र ‘नजल स्प्रे’ का रूपमा उपलब्ध छ । नजल स्प्रे २ देखि ४९ वर्षसम्मका स्वस्थ व्यक्तिका लागि स्वीकृत गरिएको छ । नजल स्प्रे गर्भवती, अस्थमा र सास फेर्दा घ्यारघ्यार गर्ने २–४ वर्षसम्मका बालबालिका तथा शरीरको रोगप्रतिरोधी प्रणालीमा कमजोरी भएकाहरूलाई दिइँदैन ।

इन्जेक्टेड इनएक्टिभेटेड इन्फ्लुएन्जा भ्याक्सिन (खोप) सामान्यत: विश्वभरि नै उपयोग गरिन्छ । यो खोपले स्वस्थ वयस्क व्यक्तिलाई सुरक्षा दिने गर्छ । यो सुरक्षा त्यसताका वातावरणमा फैलिरहेको भाइरस खोपमा भएको भाइरससँग ठ्याक्क नमिले पनि दिँदा फरक नपर्ने डब्लूएचओले जनाएको छ । यद्यपि बूढापाकामा यस्तो खोप कमै प्रभावकारी हुन सक्छ, तथापि यसले रोगको गम्भीरतालाई कम गरी मृत्युको मुखमा पर्नबाट जोगाउनचाहिँ सक्छ ।

रुघाखोकीबाट हुने जटिलताको उच्च जोखिम रहेकाहरू, तीसँग बस्ने र तिनलाई स्याहार गर्नेहरूका लागि यो खोप धेरै आवश्यक मानिन्छ ।

के गर्छ खोप ले ?

सीडीसी का अनुसार, खोपले रुघाखोकीबाट बिरामी हुने, अस्पताल भर्ना हुनेलगायतका शारीरिक समस्यामा कमी ल्याउँछ । ६ महिनाभन्दा माथिका सबै व्यक्तिले आफ्नो ठाउँमा रुघाखोकीको समस्या सुरु हुनुभन्दा अगावै बर्सेनि खोप लगाउनुपर्छ ।

गम्भीर बिमार नलागोस् भनेर रुघाखोकीको उच्च जोखिम भएकाहरूका लागि खोप महत्त्वपूर्ण छ । रुघाखोकीको गम्भीर जटिलताको जोखिममा रहने बालबालिका, गर्भवती तथा दम, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोग भएकाहरू अनि ६० वर्षभन्दा माथिका व्यक्तिका लागि खोप आवश्यक मानिन्छ ।

स्वास्थ्योपचार गर्ने व्यक्तिका लागि समेत खोप आवश्यक मानिन्छ । ६ महिनाभन्दा साना बालबालिकासमेत गम्भीर रुघाखोकीले आक्रान्त हुने उच्च जोखिममा हुन्छन् । खोप लगाउनका लागि उमेर बाधक हुने भएकाले ६ महिनामुनिका बालबालिकाको स्याहार गर्ने व्यक्तिले चाहिँ खोप लगाउनुपर्छ ।

संकेत र लक्षण

डब्लूएचओका अनुसार, एक्कासि ज्वरो, खोकी (सामान्यत: सुक्खा), टाउको दुखाइ, मांशपेशी र जोर्नीको दुखाइ, गम्भीर अस्वस्थता, घाँटीको खसखस, दुखाइसँगै नाकबाट पानी बग्नु मौसमी रुघाखोकीका लक्षण हुन् ।

यसअन्तर्गत देखिएको खोकी गम्भीर हुनुका साथै दुई साता वा त्योभन्दा बढी समयसम्म रहिरहन सक्छ । धेरैजसो व्यक्ति बिनाकुनै चिकित्सकीय सहयोगले एक सातामा ज्वरो लगायतका अन्य लक्षणबाट निको हुन्छन् । तर रुघाखोकीले मुख्य रूपमा उच्च जोखिम समूहमा पर्ने व्यक्तिमा यसले गम्भीर बिमार वा मृत्युसमेत निम्त्याउन सक्छ । रुघाखोकीका कारण हुने बिमार हल्का र कडा हुँदै मृत्युमा पुगेर मात्र टुंगिन पनि सक्छ ।

के गर्ने ?

रुघाखोकी प्रकोपका रूपमा देखिएका ठाउँमा यो समस्या कडा रूपमा देखिए तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्छ । स्वाइन यति बेला मुलुकका केही ठाउँमा प्रकोपजस्तै देखिएकोले अलिकति पनि कडा वा फरक रूपको समस्या देखिए ‘रुघा नै त हो नि, आफैं ठीक होला’ भन्ठानेर ढुक्कले नबसी एक पटक चिकित्सककहाँ जानु नैबुद्घिमानी हुन्छ ।

स्वस्थ व्यक्तिमा मौसमी रुघाखोकीको भाइरस ७ देखि १० दिनसम्ममा क्लियर हुन्छ । ब्याक्टेरियल वा सेकेन्डरी संक्रमण भएमा बढी समय लाग्छ ।

रुघाखोकी को जोखिम समूह

रुघाखोकीको जोखिम समूहमा गर्भवतीमहिला, ५ वर्षमुनिका बालबालिका, ढापाका,मुटु/फोक्सो/मृगौला/दम/पार्किन्सन्स/ मधुमेह/स्नायुसम्बन्धी रोग भएकाहरू, दीर्घकालीन चिकित्सा अवस्था भएका, क्यान्सरका उपचार गराइरहेकाहरू, अंग प्रत्यारोपण गराएकाहरू, मोटोपनको समस्या भएकाहरू, स्नायुसम्बन्धी रोग भएकाहरू, रोग प्रतिरोधक क्षमता कम भएकाहरू र स्वास्थ्यकर्मीहरू पर्छन् ।

उपचार

कडा रुघाखोकी देखिए र प्रयोगशालापरीक्षणले स्वाइन ºलुको पुष्टि भए एन्टिभाइरलसहित अन्य औषधि दिइन्छ । यसका अतिरिक्त बिरामीलाई प्रशस्त आराम गर्न लगाइन्छ । समयमै उपचार गरे मौसमी रुघाखोकीलगायतका स्वाइन ºलु निको हुन्छ । असामान्य लक्षण देखिएका वा जोखिम समूहमा रहेकाहरूले लापरबाही गरे, उपचारमा ढिलो पुगे मृत्युसम्म हुने सम्भावना बढी देखिएको छ ।

‘ºलुका बिरामीले सास फेर्न असजिलो भएको छैन वा निमोनिया भएकै छैन भनेर घरै बस्नुहुन्न,’ डा. पुन भन्छन्, ‘ढिलो नगरी समयमै उपयुक्त उपचार प्रक्रियामा जाँदा रोग निको हुन सहयोग मिल्छ । स्वाइनको अति कडा अवस्थामा रोगीहरूलाई भेन्टिलेटरमा राख्नुपर्ने पनि हुन सक्छ ।’

संक्रमण को प्रसारण

मौसमी रुघाखोकी सजिलै एकबाट अर्को व्यक्तिमा फैलिन्छ । यो संक्रमण स्कुल, नर्सिङ होमसहित भीडभाड भएका क्षेत्रमा तीव्र गतिले फैलिन्छ । मौसमी रुघाखोकीको भाइरस हाम्रो शरीरमा मुख्यत: नाक, आँखा, मुखका माध्यमले प्रवेश गर्छ ।

संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने भाइरसयुक्त पानीका ससाना थोपा हावामा फैलिन्छन् । यस्ता थोपा एक मिटरसम्म फैलिन सक्छन् र पानीको थोपालाई सासका माध्यमले आफूभित्र तान्ने स्वस्थ व्यक्ति पनि संक्रमित हुन्छन् । यो भाइरस संक्रमितको हातबाट समेत अर्को व्यक्तिमा सर्ने गर्छ ।

रुघाखोकी संक्रमितले यदि खोक्दा वा हाच्छिउँ गर्दा हातले मुख छोपे भने त्यही हातमा पनि भाइरस सरिसक्छ ।

अनि त्यो हातले जहाँजहाँ (ढोका, किबोर्ड, हयान्डिल, मेच आदि) छोयो, त्यहीँत्यहीँ स्वाइनको भाइरस टाँसिन्छ । अनि अरू कसैले त्यहाँ छोए तिनको शरीरमा आफ्नै हातका माध्यमले भाइरस प्रवेश गर्छ । एसरी भाइरस नफैलियोस् भन्नका लागि खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु पेपर, रुमाल आदिले छोप्नुपर्छ र हात नियमित रूपमा साबुनपानीले धुनुपर्छ ।
स्रोत : www.kantipurdaily.com/health

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper