कब्जियत (Constipation)

संपरीक्षक दिनेश धरेल

परिचय :

नियमित रूप मा दिसा नहुने, भए पनि साह्रो हुने, थोरै हुने, दिसा गर्न गाह्रो हुने र पेट सफा भएको अनुभव नहुने अवस्था लाई कब्जियत भनिन्छ । सामान्यतया यो एक आम रूप मा देखिने समस्या हो । तर जब साता मा तीन चोटी भन्दा कम दिसा हुने र दिसा नआएका कारण पेट दुख्ने, पेट फुल्ने भएर बिरामी नै भएको महसूस हुने भयो भने यसलाई गम्भीर समस्या का रूप मा लिएर उपचार तर्फ लाग्नु पर्ने हुन्छ ।

यस्तो किन हुन्छ ?

पर्याप्त मात्रा मा तरल पदार्थ र रेशादार खानेकुरा खाइएन भने कब्जियत हुने सम्भावना हुन्छ । कहिलेकाहीं कुनै किसिम को औषधी को प्रयोग का कारण वा अप्रेशन का कारण पनि कब्जियत हुन सक्छ जसको समय मै पहिचान र उपचार गर्नुपर्ने हुन्छ । तपाईंलाई कब्जियत छ भने निम्न कुराहरु भए नभएको पनि राम्ररी निरीक्षण गर्नुहोला । यदि तलका लक्षणहरु देखिए भने तिनले गम्भीर समस्या तर्फ संकेत गर्दछन्-

  • दिसा मा रगत (दिसा संगै वा दिसा बाट छुट्टिएको अवस्था मा) जानु
  • अचानक पातलो दिसा हुनु
  • ज्वरो आउनु
  • तौल घट्नु
  • कमजोरी को महसूस हुनु

 

कारणहरु :

कब्जियत का पछाडी निम्न कारणहरू हुन सक्छन्-

  • असन्तुलित अर्थात् रेशादार खानेकुरा कम खानु । यो आम रुप मा देखिने कारण हो । फाइबर भएका खानेकुरा ले आन्द्रा लाई काम गर्न सजीलो तुल्याउँछन् । याद राख्नुहोला- फलफूल, सागसब्जी, गेडागुडी आदि खानेकुरा बढी रेशादार हुन्छन् ।
  • पर्याप्त पानी तथा अन्य तरल पदार्थ नपिउनु । यसले कब्जियत लाई अरु जटिल पार्दै लान्छ।
  • शारीरिक व्यायाम को कमी हुनु ।
  • कब्जियत लाई प्रश्रय दिने रोगहरु लाग्नु । पाचन प्रणाली सम्बन्धी समस्या, थाइरोइड को समस्या, अन्य रोग का कारण आन्द्रा भित्र पचेका कुराहरू अगाडी नसर्ने समस्या आदि ले पनि कब्जियत गराउँछन् ।
  • कब्जियत लाई प्रश्रय दिने खालका ‌औषधिहरु खानु । दुखाई कम गर्ने औषधि, डिप्रेशन को औषधि, ग्यास्ट्रिक को समस्या मा खाने औषधि, आइरन चक्की आदि को नकारात्मक असर का रुप मा कब्जियत हुने सम्भावना हुन्छ ।
  • गर्भावस्था मा हुने हर्मोन्स को परिवर्तन का कारण करीब २०% गर्भवती महिला मा कब्जियत हुने गर्छ।
  • मेरुदण्ड मा चोट लाग्नाले भएको नशा सम्बन्धी समस्या मा ।
  • अज्ञात कारणहरु : कब्जियत का अरु पनि अनेक अवस्थाहरु छन् । जसका कारण का बारे मा स्पष्ट उल्लेख छैन । जस्तो कि कतिपय महिलाहरु मा आन्द्रा को चाल कम भएर पनि कब्जियत हुन सक्छ र जीवनभर रहिरहन सक्छ ।

 

डाक्टर लाई कहिले भेट्ने ?

कब्जियत हुने व्यक्ति ले केही लक्षणहरु का बारे मा सचेत भइरहनु पर्छ र डाक्टर को सल्लाह लिनुपर्छ किनकि यिनले कुनै अझै जटिल समस्या तर्फ संकेत गरेका हुन सक्छन् ।

यदि-

  • अरू पनि नयाँ लक्षणहरु देखिए भने
  • तीन दिन भन्दा बढी समय सम्म दिसा भएन भने
  • तीन हप्ता भन्दा लामो समय सम्म कब्जियत को समस्या रहिरह्यो भने
  • अरू बेला मा या दिसा बस्दा पेट दुख्ने भयो भने
  • वान्ता हुने र पेट कस्सिए जस्तो हुने भयो भने
  • यदि समस्या निकै गम्भीर भयो भने र दिसा लगाउने औषधि ले पनि कुनै काम गरेन भने

 

निदान :

सामान्यतया कब्जियत मा खासै धेरै जांच गर्नु आवश्यक हुँदैन । तपाईंको उमेर तथा अरु सम्बन्धित लक्षणहरु का आधार मा डाक्टर ले निम्न मध्ये कुनै जांच गराउने छन्-

  • मलद्वार बाट गरिने जांच : मलद्वार को अवस्था हेरेर वा कहिलेकाही मलद्वार को मुख भित्र औंला हालेर जाँच गर्न सक्छन् ।
  • सिग्म्वाइडोस्कोपी तथा कोलोनोस्कोपी (Sigmoidoscopy and Colonoscopy) : तपाईंका डाक्टर ले एउटा क्यामेरा फिट गरिएको मसिनो पाइप तपाईंको मलद्वार बाट ठूलो आन्द्रा सम्म पुरयाई तपाईंको आन्द्रा भित्र केही समस्या छ कि भनेर हेर्ने छन् । यो प्रक्रिया औषधी र प्रशस्त पानी को प्रयोग गरी आन्द्रा पूरै सफा गरी दिसा रहित बनाएर गरिन्छ । यसै जांच का क्रम मा तपाईंको आन्द्रा को सानो तन्तु माइक्रोस्कोप मा हेरेर जांच गर्नका लागि निकाल्न सकिन्छ ।

 

उपचार :

डाक्टर ले शुरु मा तपाईलाई प्रशस्त मात्रा मा पानी तथा झोलिला खाने कुरा खान पठाउने छन् । फाइबर युक्त खानेकुरा खान का लागि सिकाउने छन् । यसो हुँदा पनि सञ्चो भएन भने कब्जियत को कारण का आधार मा डाक्टर ले उपचार निम्न तरिकाहरु अपनाउने छन्-

  • मलद्वार बाट छिराएर तत्काल दिसा गराउने औषधी हाल्ने
  • मलद्वार बाट पाइप छिराएर ठूलो आन्द्रा मा तरल पदार्थ पुर्याएर सफा गर्ने
  • दिसा पातलो र खुकुलो बनाउन खाने औषधी दिने
  • मलद्वार को मासु लाई खुकुलो बनाउने तरीका बिरामी लाई सिकाइन्छ जसले गर्दा दिसा बाहिर निस्किन सजिलो हुन्छ । यो तरीका लाई Biofeedback भनिन्छ ।
  • कहिलेकाही जटिल र साधारण उपचारले ठीक नभएको अवस्थामा, साथसाथै बान्ता, पेट फुल्ने आदि भइरहेमा र आन्द्रा थुनिएको लक्षण देखिएमा अप्रेशन पनि गर्नुपर्ने हुन्छ ।

 

रोकथाम तथा स्व-उपचार :

  • रेशादार खानेकुराहरु जस्तै फलफूल, तरकारी, गेडागुडी, दाल आदि खाने
  • प्रशस्त पानी र तरल पदार्थ पिउने (कम्ती मा २ लिटर प्रतिदिन)
  • नियमित व्यायाम गर्ने
  • नियमित रुप मा दिसा गर्ने नियम बनाउने
    • दिनहुं एकै समय मा दिसा बस्ने बानी बसाल्ने
    • दिसा रोक्ने बानी नगर्ने दिसा लाग्ने बित्तिकै ट्वाइलेट जाने
    • दिसा बस्दा हतार नगर्ने शान्ति सँग अगाडी ढल्केर, समय लिएर दिसा गर्ने

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper