रिंगटा लाग्नु (Dizziness)
परिचय :
आफुलाई घुमाएको जस्तो, हल्लाएको जस्तो, कतै ढल्किन लागेको जस्तो, लड्न लागेको जस्तो वा सन्तुलन गुमाउन लागेको जस्तो महसूस हुनुलाई रिंगटा लाग्नु भनिन्छ । रिंगटा लाग्दा कहिलेकाहीं टाउको हलुंगो भएको जस्तो हुने र सीधा हिंड्न पनि गाह्रो हुने हुन्छ । र, कतै बेहोशै हुन्छु कि जस्तो पनि लाग्न सक्छ।
बच्चा मा खेल खेल्दा केही बेर फनफनी घुमेर टक्क रोकिएका बेला मा अनुभूति गरे जस्तो कहिलेकाहीं आफै वा आफनो वरिपरि को वातावरण नै घुमिरहेको जस्तो लाग्दछ । यो एक विशेष प्रकार को रिँगटा लाग्ने समस्या हो जसलाई भर्टिगो (vertigo) भनिन्छ । उभिँदा, हिँड्दा वा टाउको हल्लाउँदा झनै बढ्ने यस्तो अनुभूति कहिलेकाहीँ केही क्षण मात्र हुने र हराएर जाने गर्छ भने कहिले केही मिनट, घण्टा वा दिनौं सम्म पनि रहिरहन सक्छ ।
रिँगटा लाग्ने वा घुमाउने यति आम समस्या हो कि प्राय: मानिसहरु यही कुरा लिएर डाक्टर को मा पुगेको देखिन्छ । लगातार रिंगटा लाग्नु वा पटकपटक रिंगटा लाग्नु, दुबै अवस्था मा तपाईंको दैनिक जीवन प्रतिकूल रुप मा प्रभावित हुनसक्छ । आफै कम भएर जाने वा उपचार पछि छिटै निको हुने खालको रिंगटा खासै गम्भीर हुँदैन । तर यदि दिमाग को रोग को कारण रिंगटा लागेको हो भने त्यो चाहिँ प्राणघातक पनि हुन सक्छ । रिंगटा लाग्दा सन्तुलन राम्ररी नभएर लड्ने र चोटपटक लाग्ने सम्भावना हुन्छ ।
यस्तो किन हुन्छ ?
हामीमा सन्तुलन को भावना बनाइराख्ने कुरा मा निम्न अंगहरु को संयुक्त भूमिका हुन्छ-
आँखा : आँखा ले तपाईंलाई आँफू कहाँ छु भन्ने चेतना दिइरहने काम गर्छन् ।
कान को भित्री भाग : यसले तपाईंलाई अगाडी पछाडी को गति र गुरुत्वाकर्षण को आभास दिन्छ ।
स्नायु तन्तुहरु : यिनले मस्तिष्क लाई तपाईको शरीर को स्थिति र चाल का बारे मा सूचना दिने काम गर्छन् ।
यिनमा हुने कुनै पनि प्रकार को व्यवधान ले हामीलाई रिँगाउने वा चक्कर लाग्ने समस्या हुन सक्छ । यिनीहरु का बीच को जटिल कार्यगत एकता लाई पहिल्याएर रिँगटा लाग्नु को वास्तविक कारण पत्ता लगाउनु भनेको निकै गाह्रो कुरा हो ।
कारणहरु :
मष्तिस्क मा आवश्यक मात्रा मा रगत को आपूर्ति नहुनु ले टाउको हलुका भएको महसूस गराउने खालको रिँगटा लाग्दछ । यसका कारणहरु निम्न छन्-
- अचानक रक्तचाप कम हुंदा । यदि सुतेको वा बसेको ठाउँ बाट अकस्मात् उठियो भने अथवा रक्तचाप घटाउने दवाई खानुभएको छ भने अचानक रक्तचाप घट्न सक्छ । यसलाई अर्थोस्ट्याटिक हाइपोटेन्शन भन्दछन् ।
- शरीर निर्जलित हुँदा । झाडापखाला, वान्ता, उच्च ज्वरो, धेरै गर्मी सँगै पानी कम पिउनाले र बढी कामकाज गर्नाले शरीर मा पानी को कमी हुन गई शरीर निर्जलित हुन सक्छ ।
- अन्य कारणहरु
शरीर मा हेमोग्लोबिन अथवा रगत मा चिनी को मात्रा कम हुँदा
फलू, एलर्जी, रक्ताल्पता, मुटु रोग, मस्तिष्काघात, मधुमेह आदि भएका व्यक्ति मा
छारेरोग, डिप्रेशन, अनिद्रा आदि को औषधि लिएको अवस्था मा
मस्तिष्क मा अथवा कान भित्र समस्या आउनाले शरीरको सन्तुलन गर्ने क्षमता मा ह्रास आई भर्टिगो हुन सक्छ । जसका केही कारणहरु प्राणघातक हुन्छन् भने धेरै जसो त्यति चिन्तनीय हुँदैनन्-
- भित्री कान को समस्या : भित्री कान मा पत्थरी वा संक्रमण भएर सन्तुलन मा नियन्त्रण गर्ने कान को भित्री अंग ले काम गर्न नसकेमा रिंगटा लाग्न सक्छ । यसका निम्न अवस्था छन्-
कान भित्र पत्थरी परेको छ भने त्यो यताउति सर्दा रिँगटा लागेको महसूस हुन्छ । यो खासै हानिकारक मानिँदैन ।
कान भित्र को स्नायविक समस्या । यो भाइरस संक्रमण का कारण ले हुन्छ ।
मेनियर रोग । यो कान भित्र हुने सन्तुलन मा विशेष भूमिका निर्वाह गर्ने द्रव सँग सम्बन्धित गम्भीर प्रकृति को रोग हो ।
- टाउको मा चोट लाग्नाले : टाउको मा चोट लाग्नाले शारीरिक सन्तुलन को आभास गराउने भाग मा असर पर्न गई रिंगटा लाग्छ ।
- मस्तिष्क मा समस्या : टाउको मा रगत जम्नु, मस्तिष्काघात हुनु, माइग्रेन तथा अन्य मस्तिष्क को रोग का कारण पनि सन्तुलन मा समस्या आउंछ ।
- औषधि को प्रयोग : केही औषधि ले पनि भित्री कान र मष्तिस्क को कार्य मा असर गरी रिंगटा लाग्न सक्छ । तर यो समस्या विरलै भेटिएको छ ।
डाक्टर लाई कहिले भेट्ने ?
कुनै पनि किसिम को रिंगटा को साथमा निम्न मध्ये कुनै पनि लक्षण छन् भने तुरुन्तै डाक्टर सँग सम्पर्क गर्नु पर्दछ-
- टाउको दुखाई, विशेष गरी नयाँ वा गम्भीर प्रकृति को
- वान्ता, विशेष गरी पटक पटक जोडले आउने खालको भएमा
- बढ्ता ज्वरो आएमा
- केही मिनेट भन्दा बढी समय सम्म बेहोश भएमा
- अचानक बोली, सुन्ने शक्ति र दृष्टि मा अन्तर आएमा
- झम्झमाउने वा हातखुट्टा निदाउने भएमा
- हात र खुट्टा कमजोर भएको महसूस भएमा
- सहयोग बिना हिंड्न नसकिएमा
- छाती दुख्ने, सास फेर्न गाह्रो हुने भएमा
- मुटु को धड्कन बढ्ता वा घरि घरि छुट्ने (नहुने) भएमा
- टाउको मा चोट लागेमा
- छारेरोग, घांटी कडा हुने समस्या भएमा
यदि माथी दिइएका लक्षणहरु नहुँदा नहुँदै पनि बारम्बार रिँगटा लागिरहन्छ वा चक्कर लागेको अनुभूति भइरहन्छ भने तपाईंले डाक्टर लाई देखाउनै पर्दछ ।
निदान :
डाक्टर ले रोग र लक्षणहरु को बारे मा तपाईलाई विस्तृत रुप मा सोध्नेछन्, तपाईंको पूरा चेकजांच गर्नेछन्, विशेष गरी उठेको र बसेको अवस्था मा रक्तचाप जांच्ने छन् र निम्न मध्ये आवश्यक जांच गर्न लगाउने छन्-
- मुटु को ईसीजी
- सुन्ने क्षमता को जांच
- सन्तुलन गर्ने क्षमता को जांच
- रगत को जांच
- मष्तिस्क को सीटी स्क्यान वा एमआरआई
उपचार :
रिंगटा को उपचार लक्षण मा निर्भर गर्दछ । कतिपय अवस्था मा उपचार गर्दा निको भए पनि केही अन्तराल पछि लक्षणहरु फेरि देखिन सक्छन् ।
सामान्यतया रिँगटा लाग्नु वा भर्टिगो उति चिन्तनीय होइनन् तर तिनका कारण ले भोग्नुपर्ने अनुभूति निश्चय नै दिक्कलाग्दा हुन्छन् । तेसैले उपचार को उद्देश्य ती लक्षणहरु मा कमी ल्याउने र कारण पत्ता लगाएर निराकरण गर्ने कुरा मा केन्द्रित हुन्छ । सो निम्न तरीका ले गर्न सकिन्छ-
- औषधि : गम्भीर र लामो समय को रिंगटा वा भर्टिगो को उपचार का लागि औषधि दिइन्छ । यी औषधि डाक्टर को सुझाव अनुसार मात्र लिनुपर्छ र लक्षण कम हुने बित्तिकै बन्द गर्नुपर्छ ।
- सन्तुलन गर्ने क्षमता को पुनर्स्थापना : तपाईंको मस्तिष्क लाई सन्तुलन गर्न अभ्यास गराउने विभिन्न कसरत गराइन्छ । सकेसम्म चिप्लो भुईं मा नहिँड्ने, चिप्लने खालका र अपठेरा चप्पल नलगाउने, विजुली का कामहरु नगर्ने, अँध्यारो मा नहिँड्ने जस्ता कुराहरू लाई अपनाउनु पर्छ । भर्टिगो भएको थाहा हुना साथ यो उपचार गरेमा यसले राम्रो परिणाम दिन्छ ।
- शल्यक्रिया : रिँगटा लाग्ने एक विशेष प्रकार को रोग (Meniere’s disease) मा शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ ।
स्व-उपचार :
यदि तपाईंलाई टाउको हलुका भए जस्तो खालको रिंगटा लाग्छ भने निम्न कुरा मा ध्यान दिनाले सहयोग पुग्न सक्छ-
- बसेर उठ्दा केही दरो चिज मा समातेर मात्र उठ्ने
- सुतेर उठ्नु पर्दा पहिले बिस्तारै बस्ने अनि एकछिन पछि मात्र बिस्तारै उठ्ने
- अचानक उठ्ने बस्ने वा शरीरको स्थिति (position) लाई परिवर्तन नगर्ने
- शरीर मा जलविनियोजन हुन नदिने
यदि तपाईंलाई भर्टिगो छ भने निम्न कुरामा ध्यान दिनाले स्थिति अरु बिग्रन बाट जोगिन सक्छ-
- रिंगटा लागेको बेलामा नचलीकन आराम सँग बस्ने
- अचानक छिटो छिटो शरीरको स्थिति (position) लाई परिवर्तन नगर्ने
- शरीर सन्तुलन भएको छैन भने लट्ठी को सहारा लिन सकिन्छ
- रिंगटा लागेको बेला चम्किलो प्रकाशमा हेर्ने, पढ्ने आदि काम गर्नु नगर्ने
- गाडी चलाउने, रुख चढ्ने, पौडी खेल्ने वा मेशीन को काम आदि क्रियाकलाप लक्षण देखिन छाडेको एक हप्ता सम्म गर्नु हुँदन
Send us your feedback on this article