ज्वरो (Fever)
परिचय :
हाम्रो शरीर को तापक्रम जाडो होस् या गर्मी सधैं एकनास को रहिरहन्छ । एउटा स्वस्थ मानिस को शरीर को औसत तापक्रम ९८.६ डिग्री फरेन्हाइट भनिएता पनि ९७ डिग्री र ९९.५ डिग्री फरेनहाइट को बीचमा कहिँ पनि हुनुलाई सामान्य मानिन्छ । शरीर को तापक्रम औसत तापक्रम भन्दा माथी जानुलाई ज्वरो भनिन्छ र एसले प्रायजसो अस्वस्थता को संकेत गर्दछ । दिन को समय, व्यायाम, वातावरण को तापमान र मापनस्थल अनुसार शरीर को तापक्रम फरक फरक हुन्छ । शरीर को तापक्रम विहानभन्दा साँझपख बढी हुन्छ भने काखी को तुलनामा जिब्रा मुनि को तापक्रम बढी हुन्छ । महिनावारी हुने समय मा पनि शरीर को तापक्रम बढी हुन्छ । तर पनि दुई डिग्री भन्दा बढी को घटबढ हुँदैन । संक्रमण र अन्य तनावयुक्त अवस्था मा ज्वरो शरीर को सामान्य प्रतिक्रिया हो र संक्रमण विरूद्ध शरीर को क्षमतामा यसको सुरक्षात्मक प्रभाव समेत हुन्छ । तसर्थ समयभन्दा अगावै तापक्रम कम गर्न ज्वरा को औषधि खानु सधैं लाभकारी हुँदैन । तथापी, तापक्रम १०२ डिग्री फरेनहाइट भन्दा माथी गएमा ध्यान पुरयाउनु पर्दछ र ज्वरो घटाउने औषधी (एण्टिपाइरेटीक्स) द्वारा उपचार गर्नु पर्दछ । अत्यन्त उच्च ज्वरो ले बालबालिका मा छारे अाउने समेत हुन सक्दछ ।
कारणहरू :
ज्वरो शरीर मा अन्तर्निहित अन्य रोगहरू को लक्षण का रूप मा देखा पर्दछ । संक्रमण (व्याक्टेरिया, भाइरस, ढुसी, परजीवी) विरूद्ध लाग्दा उत्पन्न हुने रसायन, विभिन्न संक्रामक रोग बाट सुरक्षा प्रदान गर्दा बन्ने रसायन, क्यान्सर सँग सम्बन्धित नवोत्पादित रसायन वा अन्य उत्तेजना बढाउने रसायन मस्तिष्क मा पुगी मस्तिष्क को तापक्रम नियमन गर्ने कार्य मा व्यवधान पुरयायो भने ज्वरो आउँछ । तेस्ता रसायनहरू लाई पाइरोजेन अर्थात् ज्वरो उत्पन्न गर्ने रसायन भनिन्छ । जस्तै-
संक्रमण :
- श्वासप्रश्वास प्रणाली मा संक्रमणः उदाहरण– श्वासनली को सूजन, चिसो वा फ्लू (जस्तैः रुघा, घाँटी दुख्नु, पिनास, घण्टिका/कण्ठनली को सूजन (एपिग्लोटाइटिस), ब्रोंकाइटिस, न्यूमोनिया, क्षयरोग, दादुरा, ठेउला, कान को मध्यभाग मा संक्रमण ।
- आमाशय प्रणाली को संक्रमणः आमाशय एवं सानो आन्द्रा को विषाणुगत (भाइरल) र सूक्ष्म जीवाणुगत (व्याक्टेरिएल) संक्रमण (ग्यास्ट्रोइन्टेराइटिस) । जस्तैः पखाला, आउँ, टाइफाइड को ज्वरो, हेपाटाइटिस, ठूलो आन्द्रा एवं मलाशय को सूजन हुनुका साथै घाउ बन्नु (अल्सरेटिभ कोलाइटिस), एपेण्डिसाइटिस (आन्दा सुन्निनु), आन्द्राभुँडी लाई वरिपरिबाट घेरेर राखेको झिल्ली को सूजन (पेरिटोनाइटिस) ।
- मूत्रनली प्रणाली को संक्रमणः जस्तै– मूत्रथैली को संक्रमण (सिस्टाइटिस), मूत्रमार्ग को संक्रमण, मृगौला को संक्रमण (पाइलोनेफ्राइटिस) ।
- हड्डी को संक्रमण (अस्टीयोमाइलिटिस्)
- छाला को संक्रमण (सेलुलाइटिस)
- केन्द्रीय स्नायु प्रणाली सँग सम्बन्धित रोग: जस्तै- मेनिन्जाइटिस (मस्तिष्क को झिल्ली मा हुने संक्रमण) , इन्सेफेलाइटिस ।
- शरीर को रोग प्रतिरोधात्मक प्रणाली लाई प्रभाव पार्ने संक्रमणः एच.आइ.भी./एडस् ।
- औलाे (मलेरिया) वा कालाजार (लीशमेनिआसिस्)
- शरीर को कुनै पनि भाग मा जमेको पीपयुक्त घाउ (पिलो आदि) ।
स्वप्रतिरोधक अवस्था :
- संयोजित कोषिकाजन्य रोगहरू जस्तैः बाथग्रस्त जोर्नी को दुखाई र सम्पूर्ण शरीर सँग सम्बन्धित कोषिका को रोग ।
- अन्त:स्राबी ग्रन्थी सम्बन्धी कारण जस्तै- थाइराइड ग्रन्थी को अत्यधिक क्रियाशीलता ।
क्यान्सरः
ज्वरो आउनु रक्त क्यान्सरको पूर्व संकेत पनि हुन सक्दछ– रक्तक्यान्सर (ल्यूकेमिया), लसिका कोषहरू मा हुने क्यान्सर (लिम्फोमा) । अन्य क्यान्सरहरू ले प्रतिरोधक प्रणालीलाई प्रभाव पारेमा वा अन्य अंगहरूमा क्यान्सर फैलिएमा पनि ज्वरो आउन सक्छ ।
औषधीहरूः
एन्टिबायाेटिक्स (सल्फा, पेन्सिलिन), छारे काे औषधि (फेनाइट्वाइन), उच्च रक्तचाप को औषधि (हाइड्रालाजाइन, मेंथाइलडोपा) र अन्य औषधीहरू ज्वरो का संभाव्य कारण हुन सक्दछन् ।
घरेलु उपचार :
- प्रशस्त झोल पदार्थ पिउन दिनु पर्दछ र विरामी ले पिसाब गरेको हेर्नुपर्दछ ।
- आवश्यक लुगाहरू मात्र लगाउने ।
- कोठा मा छड्के हावा को प्रवेश हुने वातावरण हुनुपर्दछ ।
- निधार, काखी र काप वा शरीको अन्य भागमा चिसो पानीले पुछ्ने ।
- माथी भनिए अनुसार उपचार गर्दा पनि तापक्रम नघटेमा पारासिटामोल ख्वाउने ।
चिकित्सक लाई कहिले भेट्ने ?
- यदि तापक्रम १०२ डिग्री फरेनहाइट (३८.९ सेन्टिग्रेड) वा बढी (उच्च ज्वरो) छ भने ।
- ज्वरो सँगै निम्न लक्षणहरू देखिएमा । जस्तैः अलमलिनु, घाँटी अरर्रिनु वा गम्भीर टाउको दुखाई, पखाला, बान्ता, पिसाब पोल्नु, पिसाब तुरतुर हुनु, विमिरा वा पेट वा ढाड को गम्भीर दुखाई ।
- तत्काल गरिएको शल्यक्रिया वा औषधी बाट आएको ज्वरो हो भने
- गर्भावस्था मा भएको ज्वरो मा
- मधुमेह, मृगौला का पुराना रोगहरू जस्तै रोगहरू लागेका मानिस मा भएको ज्वरो मा
- प्रतिरोध क्षमता लाई प्रभावित पार्ने खालका औषधि (क्यान्सर का लागि केमोथेरापी वा शरीर को अंग प्रत्यारोपित व्यक्ति) खाइरहेको अवस्था मा ज्वरो आएको छ भने
- धेरै दिन सम्म पनि ज्वरो आइरहेको छ भने
- यात्रा पश्चात् अाएको ज्वरो हो भने
उपचार का विकल्पहरू :
ज्वरो संक्रमण को प्रतिरोध गर्ने शरीर का लागि फाइदाजनक कुरा भएको हुँदा सधै उपचारको आवश्यकता पर्दैन । ज्वरो उच्च भएमा पारासिटामोल, इबुप्रोफेन जस्ता ज्वरो रोक्ने औषधी (एन्टिपाइरेटिक्स) ख्वाउनु पर्दछ । तथापी, यसबाट अन्तर्निहित रोगहरू निको हुँदैन । भाइरसद्वारा भएका धेरैजसो बिसञ्चो आफै निको हुने हुन्छन् भने संक्रमणका अन्य कारणहरू भए एन्टिबायोटिक, एन्टिफंगल्स र एन्टिपारासाइटिक औषधी द्वारा उपचार गर्नुपर्दछ । बालबालिकामा हुने ज्वरोमा एस्पिरीन दिनु हुँदैन । किनकि बालबच्चा मा यसबाट रेइज सिन्ड्रोम जस्तो जीवनै खतरा मा पुग्ने समस्या हुन सक्दछ ।
Send us your feedback on this article