पेट दुख्नु (Abdominal Pain)

परिचय :
छाती को करङ देखि मुनी र कट्टी देखि माथि को भाग मा हुने दुखाई लाई पेट को दुखाई
भनिन्छ । यो यति आम लक्षण हो कि जीवन भरि मा प्रायः सबैले यसको अनुभव गरेकै हुन्छन् । पेट को दुखाई सामान्यतयाः पेटै भरि वा विशेषतः पेटको कुनै एक भाग मा मात्र हुन सक्दछ । शारीरिक बनोट को आधार मा दुखाई को मात्रा घटबढ हुन्छ । पेट को दुखाई लाई कस्तो दुखाई हो भनेर जान्न सजीलो होस् भनेर पेट को माथिल्लो बीच को भाग (माथिल्लो पेट), दायाँ माथिल्लो एक चौथाई, बायाँ माथिल्लो एक चौथाई, दायाँ तल्लो एक चौथाई, बायाँ तल्लो एक चौथाई र पेटको तल्लो बीच को भाग (तल्लो पेट) गरी विभिन्न भाग मा बाँड्न सकिन्छ । पेट को दुखाई सामान्य र गम्भीर दुवै खाल को हुन सक्दछ । धेरैजसो पेट सम्बन्धी मामिलाहरू गम्भीर किसिम का नभएता पनि कहिलेकाही यो गम्भीर बिमारी को संकेत पनि हुन सक्छ । गम्भीर खाल को पेट को दुखाई पनि तिब्र र छोटो समय को वा केही दिन वा हप्तैभरी रहिरहने खालको (पुरानो) हुन सक्दछ ।
पेट दुख्नु का कारणहरू :
पेट दुखेको स्थान विशेष ले पेट दुखाई को कारण सम्बन्धी महत्वपूर्ण जानकारी दिन्छ । तसर्थ, स्थान विशेष को आधार मा पेट दुखाई को कारण लाई पत्ता लगाइन्छ । तथापि, ती ठाउँहरू को छुट्टयाउने निश्चित सीमाहरू छैनन् । तेसैले कतिपय अवस्था मा दुखाई एक ठाउँ अर्को मा खप्टिएको हो कि जस्तो लाग्छ ।
पेट को माथिल्लो बीच को भाग (माथिल्लो पेट) को दुखाई-
- भोजननली मा अम्ल प्रतिवाह रोग (GERD)
- आमाशय मा हुने घाउ (PUD)
- अम्लपित्त (वायुविकार) । (बिना घाउ को)
- अजीर्ण/अपच
- अग्न्याशय को सूजन (प्यान्क्रियाटाइटिस्)
पेट को माथिल्लो दायाँ भाग
- पित्ताशय को सूजन
- पित्ताशय को पत्थरी
- कलेजो को सूजन (हेपाटाइटिस्)
- अग्न्याशय को सूजन (प्यान्क्रियाटाइटिस्)
- मृगौला सम्बन्धी रोगहरू (पत्थरी, संक्रमण, घाउ)
- सानो आन्द्रा को शुरु को भाग मा घाउ हुनु (डुओडेनाल अल्सर)
- भूँडी बाट पक्वाशय मा जाने प्वाल को संकुचन
पेट को माथिल्लो बायाँ भाग
- फियो सम्बन्धी रोग (विस्तार, संक्रमण, खटिरा, मृततन्तु, चोटपटक)
- मृगौला रोग (पत्थरी, संक्रमण, ट्यूमर)
- ठूलो आन्द्रा सम्बन्धी रोग (मलद्वार खुम्चिनु, मांसपेशी खुम्चिनु)
पेट को तल्लो दायाँ भाग
- आन्द्रा सुन्निनु (एपेन्डिसाइटिस्)
- पाठेघर सुन्निनु
- डिम्बवाहिनी नली मा गर्भ बस्न गएमा
- मूत्राशय को पत्थरी
- डिम्बाशय को दुखाई
- आन्द्रा मा हुने क्षयरोग
पेट को तल्लो बायाँ भाग
- पाचनमार्ग को कमजोर भाग मा पैदा भएका साना पोका तथा थैलीहरु को सूजन
- पाचनमार्ग को कुनै भाग मा हुने सूजन
- ठूलो आन्द्रा को मुख्य भाग मा हुने क्यान्सर
- डिम्बवाहिनी नली मा गर्भ बस्न गएमा
- मूत्रनली मा हुने पत्थरी
- डिम्बाशय मा हुने दुखाई।
चारैतिर हुने पेट को दुखाई ।
- आमाशय एवं सानो आन्द्राको सूजन, पखाला, आँऊ ।
- आन्द्रा को संकुचन का कारण हुने अवरोध ।
- एपेन्डिक्स सुनिनु (एपेन्डिसाइटिस्) ।
- आन्द्रा को एक भाग अर्कोतिर पस्नु ।
- आन्द्राभूँडी लाई घेरिराखेको अन्तरंग झिल्ली च्यातिनु वा क्षयरोग ।
- जूका बाट हुने संक्रमण अंकुशे, सियो, फन्के र फित्ते जूका को संक्रमण ।
- मधुमेह सम्बन्धी कारण ले हुने अम्लरक्तता ।
- सानो एवं ठूलो आन्द्रा को असामान्य चलनशीलताले हुने जलन।
- विषाक्त लीड को समस्या ।
तल्लो भाग को दुखाई :
- मूत्रथैली को रोग (संक्रमण, पेटको तल्लो बीचको भाग सम्बन्धी ट्यूमर)
- पाठेघर र महिला प्रजनन सम्बन्धी अंगहरुको रोग (महिनावारी हुने बेलाको दुखाई, पी. आई. डी.)
छदम दुखाई : दुखाई को उद्गम स्थान भन्दा टाढा को स्थान मा महसूस गरिने दुखाई- कहिलेकाँही वरिपरि को संरचना बाट शुरू भएको दुखाई पेट मा अनुभव गर्न सकिन्छ ।
- निमोनिया, फोक्सो को आवरण झिल्लीभित्र हावा भरिएमा ।
- कण्ठदाह र हृदयघात ।
- मेरुदण्ड को अपक्षय सम्बन्धी रोग बाट हुने चारैतर्फ फैलिएमा ।
- यदि ठेउला वा जनै खटिरा सँग सम्बन्धित स्नायुहरू पेटको छाला भएर हिंडेका छन् ब भने ।
उपचार का विकल्प :
पेट दुखाई को उपचार तेसको कारण मा निर्भर गर्दछ । पेट को दुखाई को कारण चिकित्सक को राय सल्लाह मुताबिक भिडियो एक्सरे, सामान्य एक्सरे, रगत जाँच, पिसाब जाँच र दिसा जाँच जस्तै निदानात्मक परीक्षण गरेर थाहा पाउन सकिन्छ ।
- आमाशय एवं सानो आन्द्रा को सूजन को उपचार मुख बाट दिइने पुनर्जलीय झोल द्वारा गरिन्छ। केवल व्याक्टेरिया द्वारा हुने आमाशय एवं सानो आन्द्राको सूजन मा मात्र एण्टिबायोटिक औषधी द्वारा उपचार गर्नुपर्दछ ।
- जूका को संक्रमण भएमा एन्टीहेल्मिन्थिक (जूका प्रतिरोधी) औषधी द्वारा उपचार गरिन्छ ।
- भर्खर को तर तिब्र वा पुरानो अम्लपित्त (ग्याष्ट्रिक) को उपचार अम्ल कम गर्ने औषधिद्वारा गरिन्छ ।
- महिनाबारी मा हुने दुखाई का लागि पारासिटामोल/इब्रुप्रोफेन लाभदायक हुन्छ ।
- आन्द्रा को संकुचन, एपेण्डिसाइटिस, पेरिटोनाईटीस (पेट मा दोहोरो जालो) भएमा शल्यक्रिया को आवश्यकता पर्न सक्दछ ।
- स्टेरवाइड विहीन पीडा निरोधक औषधी को प्रयोग धेरै गर्नु हुँदैन । यसले अम्लपित्त वा पेप्टिक अल्सर रोगलाई अरु बढाउन सक्दछ ।
घरेलु उपचार :
- व्यक्तिगत स्वास्थ्य र खाने कुरामा विचार पुर्याउनु पर्दछ । आउ पखाला, टैफोइड, हेपतैटिस आदि रोक्न सुरक्षित पिउने पानी को प्रयोग गर्नुपर्दछ ।
- पखाला र आउँ का लागि पुनर्जलीय उपचार (नून, चिनी, पानी को सेवन) गर्नु पर्दछ ।
- पखाला सहित पेट दुखेमा चौलानी पिउनु पर्दछ ।
- थौर थोरै तर पटक पटक खानुपर्दछ ।
- महिनावारी ले गर्दा दुखेको हो भने प्रशस्त आराम गर्नुपर्दछ र तात्तातो झोल पदार्थ पिउनु पर्दछ।
- भारी सामान उठाउन हुँदैन ।
- रक्सी, धुम्रपान र पीरो/मसालेदार खाना खानु हुँदैन । यसले अम्लपित्त लाई अरू बढाउने र रक्तस्राव गराउने समेत हुन सक्दछ ।
चिकित्सक सँग कहिले सम्पर्क गर्ने ?
निम्नानुसार मध्ये कुनै पनि लक्षण देखिएमा तुरून्त चिकित्सक सँग सम्पर्क गर्नुपर्दछ-
- दिसा मा रगत देखिएमा (रातो रगत वा कालो रंगको दिसा) ।
- रगत बान्ता भएमा ।
- पेट सुन्निएमा वा पेट छुँदा दुख्ने भएमा ।
- सहन कठीन भएमा वा पेट को दुखाई झन्झन् बढ्दै गएमा ।
- पेट को दुखनु सँगै ज्वरो आएमा
- हालसालै पेट मा चोटपटक भएको अवस्था मा
- गर्भावस्था मा पेट दुखेमा
Send us your feedback on this article