थकान वा कमजोरी (Fatigue/ Tiredness)

तात्पर्य :
काम गर्दा गर्दैको अवस्था मा वा बिसाइरहेकै अवस्था मा र यहाँसम्म कि सुतेकै अवस्था मा पनि शरीर गले जस्तो, कमजोरी भए जस्तो अनुभव हुन्छ भने त्यसलाई थकान र कमजोरी भएको भनिन्छ । हुनत यो आँफैमा कुनै रोग होइन तर यसले अनेक शारीरिक र मानसिक रोगहरु लागेको तर्फ संकेत गरेको हुन सक्छ । यसलाई क्लान्ति, कमजोरी, आलस्य तथा शिथिलता पनि भनिन्छ । कुनै काम गर्दा थाक्नु सामान्य लक्षण भए पनि जब त्यसले गम्भीर रूप धारण गर्दछ र लामो समय सम्म रहिरहन्छ त्यो बेला थकान एउटा समस्या का रूप मा खडा हुन्छ ।
यस्तो किन हुन्छ ?
जब शरीर मा शक्ति क्षीण भएको महसूस हुन्छ तब दैनिक शारीरिक या मानसिक काम सम्पन्न गर्न पनि कठिनाई महसूस हुन्छ । थकान का कारण काम गर्न र परिवार सँग रमाउन जाँगर चल्दैन । कहिलेकाहीं थकान र कमजोरी कुनै रोग का कारण जन्मिएको हुन सक्ने भएकाले त्यसको निदान र समाधान आवश्यक हुन्छ ।
थकान का कारणहरु :
अनियमित जीवनशैली का कारण थकान तथा कमजोरी भएको भए त्यो उति चिन्तनीय होइन । जीवनशैली को सुधार सँगै थकान को समस्या को निराकरण हुन्छ । केही व्यक्ति मा मात्र यो एउटा उपचार गर्नुपर्ने समस्या का रूप मा देखिने गरेको छ । नत्र भने यो शारीरिक भन्दा पनि एउटा मानसिक समस्या हुन सक्छ ।
अ. मनोवैज्ञानिक र मनोसामाजिक : हाम्रा दैनिक क्रियाकलाप मा कतिपय तनाव उत्पन्न गर्ने कुराहरु ले थकान को अनुभव गराउन सक्छन्, जस्तो कि चिन्ता, घाटा, वियोग, काम का मुद्दाहरु, पारिवारिक समस्या, वातावरण मा परिवर्तन, जीवन निर्वाह को अवस्था आदि ।
आ. शारीरिक क्रियाकलाप तथा जीवनशैली : धुम्रपान, रक्सी सेवन, अल्पाहार र राम्ररी सुत्न नपाउने अवस्था ले पनि थकान को जन्म हुन्छ । गर्भावस्था मा हुनु, बच्चा लाई स्तनपान गराउनु, बढ्ता मोटो हुनु, बढी परिश्रम गर्नु ले पनि थकान को महसूस हुन सक्छ ।
इ. भौतिक : धेरैजसो चिकित्सकीय अवस्थाहरु ले पनि थकान को महसूस गराउँछन् । क्यान्सर, रक्ताल्पता, ज्वरो, मुटु को खराबी, श्वासप्रश्वास मा समस्या, हाड तथा जोर्नी सम्बन्धी समस्या, खानपान मा समस्या, कुपोषण इत्यादि थकान अनुभव गराउने कारकहरु हुन् । कतिपय रोगहरु मा प्रयोग गरिने केही औषधिहरु ले पनि दुष्प्रभाव का रूप मा कमजोरी गराउँछन् । जस्तो कि क्यान्सर मा, उच्च रक्तचाप मा, एलर्जी आदि मा दिइने औषधिहरु ।
डाक्टर को सहयोग कहिले लिने ?
थकान वा कमजोरी सामान्यतया आत्तिई हाल्नु पर्ने हानिकारक अवस्था होइन । तर हप्तौं सम्म गम्भीर किसिम को थकान को अनुभव भइरह्यो भने डाक्टर को परामर्श लिनु पर्ने हुन्छ । यदि तपाईंले आफ्नो थकान को कारण पत्ता लगाउन सक्नुभएन भने पनि डाक्टर को सल्लाह उपयोगी हुन्छ । डाक्टर ले तपाईंको सम्पूर्ण वृत्तान्त सुनेर विभिन्न प्रकार का परीक्षणहरु गराउन सक्छन्। तपाईंको थकान को लक्षण तथा अन्य शारीरिक लक्षण का आधार मा तपाईंको उपचार गरिन्छ । त्यो शारीरिक पनि हुन सक्छ र मानसिक पनि हुन सक्छ । यदि त्यो मनोवैज्ञानिक र मनोसामाजिक समस्या रहेछ भने तपाईं र डाक्टरका बीच एउटा बलियो समझदारी र विश्वासको विकास गरेर तपाईंको समस्या को जरोसम्म पुग्ने र कारण फेला पार्ने काम पनि गर्नु पर्छ । डाक्टर ले तपाईंको लक्षण हेरेर पारिवारिक या अन्य सम्बन्धका बारेमा तपाईंका व्यक्तिगत कुराहरु पनि सोध्न सक्छन्, जीवनशैली र आदतका बारेमा जिज्ञासा राख्न सक्छन्, जसको तपाईंले इमान्दारितापूर्वक जवाफ दिनुपर्ने हुन्छ । त्यसैका आधार मा डाक्टर ले समुचित उपचारका तौरतरीकाहरु पत्ता लगाउँछन् ।
थकान तथा कमजोरी त्यति हानिकारक नभए पनि समयमै उचित तरीका ले यसको निदान गर्नु राम्रो हुन्छ । नत्र यसले जटिलता निम्त्याउन पनि सक्छ । यदि तपाईंमा तलका मध्ये कुनै लक्षण देखियो भने डाक्टर को परामर्श लिनु उचित हुन्छ ।
- चक्कर आउनु
- धमिलो देखिनु
- पिसाब सम्बन्धी समस्या देखिनु
- अचानक तौल बढ्नु वा घट्नु
- फुल्नु (सुन्निए जस्तो हुनु)
- मन मा अनौठा विचारहरु आउनु, द्विविधा हुनु वा आत्महत्या गर्न मन लाग्नु
- सुत्दा अचानक सास रोकिनु (ऐंठन हुनु)
यस्तोमा तपाईंले डाक्टर सँग समय लिएर जँचाउनु पर्छ । यदि तपाईंको थकान र कमजोरी ज्वरो, तौल मा गिरावट वा वृद्धि, नीद नलाग्नु, वा रातमा पटक पटक ब्युँझनु, टाउको दुख्नु, कब्जियत हुनु, तनाव तथा चिन्ता हुनुसँगै भएको छ भने परीक्षण जरुरी हुन्छ । औषधि सेवन का कारण भएको थकान को पनि डाक्टरी परामर्श आवश्यक हुन्छ ।
उपचार का विकल्पहरु :
थकान हुनुका कारण पत्ता लगाएर निम्न उपचार गनुपर्ने हुन्छ :
भौतिक : शारीरिक कारण ले थकान भएको रहेछ भने सो को उपचार गर्नाले थकान हट्दछ । जस्तो कि रक्ताल्पता मा आइरन चक्की वा रगत बढाउने खानेकुरा को सेवन, रगतमा चिनीको स्तर बढेको भेटिँदा औषधि को प्रयोग गरेर मधुमेह माथि नियन्त्रण इत्यादि । कुनै पुरानो पीडा भए सोको निराकरण सँगै थकान हराउन सक्छ ।
मानसिक : यदि तपाईंको थकानका पछाडी मानसिक समस्या भएको पाइयो भने डाक्टरले तपाईंमा विभिन्न किसिमका मनोवैज्ञानिक चिकित्सा को प्रयोग गर्न सक्छन् । जस्तो कि वार्तालाप चिकित्सा, मनोरञ्जन चिकित्सा, विश्राम चिकित्सा तथा निद्रा चिकित्सा इत्यादि ।
जीवनशैली : यदि तपाईंको कमजोरी वा थकान का पछाडी कुनै शारीरिक वा मानसिक कारण छैन भने तपाईंले आफ्नो जीवनशैली लाई फाइदाजनक तरीका ले बदल्नुपर्ने हुन सक्छ ।
- नियमित आहार विहार सँगै आफ्नो तौलमा नियन्त्रण
- धेरै पटक (४–६ पटक) थोरै थोरै खाना खाने बानी
- भिटामिन बी१२ तथा फोलिक एसिडको सेवन
- नियमित रूप मा यथेष्ट सुताई
- नियमित व्यायाम सँगै विश्राम
- आफ्नो काम को बोझ लाई निश्चित कार्यतालिका बनाएर घटाउनुसँगै परिवारसँग समय बिताउनु, विश्राम गर्ने, मनोरञ्जन गर्ने आदि
- पेय पदार्थमा क्याफिन को मात्रा घटाउनु सँगै बढ्ता पानी पिउनु
- धुम्रपान, रक्सी सेवन तथा लागू औषधि परित्याग
- आँफूले खाएका औषधिहरु को दुष्प्रभाव का कारण थकान वा कमजोरी भएको महसुस भएको खण्डमा डाक्टर को परामर्श लिने
थकान तथा कमजोरीको रोकथाम तपाईंमै भर पर्ने कुरा हो । तपाईंले स्वास्थ्यलाई कुन रुपमा बुझ्नुभएको छ र कस्तो जीवनशैली अपनाउनु भएको छ , त्यसैले तपाईंले एउटा स्वस्थकर सक्रिय जीवन बाँच्ने प्रयास गरिरहनु पर्छ ।
सम्बन्धित विषय :
Drowsiness, Weight loss
Send us your feedback on this article