बाथज्वरो (Rheumatic Fever)

संपरीक्षक डा. नारायण बहादुर बस्नेत, MBBS, PG Pediatrics, Ph.D

    परिचय :

    घाँटी दुखेर निल्न गारो हुने, हातगोडा का जोर्नीहरु दुख्ने र सुन्निने साथसाथै ज्वरो समेत आउने रोग लाई बाथज्वरो भनिन्छ । बाथज्वरो प्रायः गरेर ५ वर्ष देखि माथीका र १७ वर्ष मुनिका किशोरहरु मा देखिने समस्या हो । २ देखि ४ हप्ता अगाडि घाँटी मा भएको स्ट्रेप्टोकोकस नामक समूह का ब्याक्टेरिया को संक्रमण का कारण यो रोग देखा पर्छ । लामो समय र पटक पटक यो रोग लागेमा मुटु लाई नै क्षति पुग्ने भएकाले एसलाई हेलचक्र्याईं गर्नु हुँदैन । यो रोग लागेको बिरामी सँग को संसर्ग तथा उसको थुक, श्वासप्रश्वास, लत्ताकपडा आदि बाट यो रोग सर्ने सम्भावना हुन्छ । विकसित मुलुकहरु मा व्यवस्थित जीवनशैली, सन्तुलित भोजन तथा प्रदूषण मुक्त वातावरण का कारण बाथज्वरो को समस्या घट्दो क्रम मा छ तर नेपाल जस्ता विकासोन्मुख मुलुकमा यो एक समस्या का रुप मा छ ।

    बाथज्वरो ले मुटु, जोर्नी, छाला तथा मस्तिष्क सबैलाई असर गर्ने भए पनि मुख्य गरेर एसले मुटु लाई पुर्याउने क्षति बढ्ता जोखिमपूर्ण मानिएको छ । बाथज्वरो ले मुटु मा असर गरिसकेको छ भने तेसलाई बाथजन्य मुटुरोग भनेर चिनिन्छ ।

    कारणहरु

    लामो समय देखि स्ट्रेप्टोकोकस समूह का ब्याक्टेरिया को संक्रमण पश्चात् बाथज्वरो देखा पर्दछ । यी ब्याक्टेरियासँग भएको प्रोटीन हाम्रो शरीर का मांसपेशी का केही कोशिका सँग मिल्छन् । ती कोशिका मुटु का भल्भ मा तथा जोर्नीहरु एवम् छाला तथा केन्द्रीय स्नायबिक प्रणाली मा पाइन्छन् । जब हाम्रो घाँटी मा ती ब्याक्टेरिया को संक्रमण हुन्छ तब हाम्रो शरीर को रोग प्रतिरोध प्रणाली ले ती ब्याक्टेरिया लाई समाप्त पार्ने उद्देश्य ले ब्याक्टेरिया सँगसँगै ब्याक्टेरिया को प्रोटीन लाई पनि नष्ट गर्ने रणनीति अपनाउँछन् । जसले गर्दा दुर्भाग्यवश हाम्रो मुटु का भल्भहरु जोर्नीहरु छाला एवं केन्द्रीय स्नायविक प्रणाली समेत प्रभावित हुन पुग्छन् । अनि जोर्नीहरु सुन्निने दुख्ने छाला मा दानाहरु देखा पर्ने मेरुदण्ड सुन्निने आदि समस्या देखा पर्छन् । तर स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट संक्रमित सबै लाई बाथज्वरो आउँछ नै भन्ने छैन ।

    जोखिम बढाउने कारक तत्त्वहरु

    • ४ वर्ष देखि १७ वर्ष सम्मको कलिलो उमेर
    • बढी भीडभाड तथा सरसफाई को अभाव
    • समय समय मा स्वास्थ्य परीक्षण नगराउने स्वभाव
    • परिवार मा अरु लाई पनि बाथज्वरो भएको इतिहास
    • गरीबी तथा कुपोषण

    लक्षणहरु

    एस रोग का लक्षणहरु सबैमा समान हुन्छन् भन्ने छैन । कसैमा धेरै लक्षणहरु देखा पर्छन् भने कसैमा थोरै । सामान्यतया ब्याक्टेरियल संक्रमण को २ देखि ४ हप्ता मा एसका लक्षणहरु देखा पर्न शुरु हुन्छन् ।

    • घाँटी दुख्ने, खानेकुरा निल्न गारो हुने, मुटु को धड्कन बढ्ने, ज्वरो आउने आदि ।
    • सास लिंदा तथा छोड्दा हलुका किसिमले छाती दुख्ने ।
    • मुटु को धड्कन बढ्ने तथा बाहिरै थाहा पाइने किसिम को धकधकी हुने ।
    • वाकवाक लाग्ने तथा पेट दुख्ने पनि हुन सक्छ ।
    • हात खुट्टा का जोर्नीहरु दुख्ने । ढाड दुख्ने । जोर्नीहरु सुन्निने ।
    • अनियन्त्रित रुप मा हात खुट्टा चल्ने, छाला मुनि गाँठाहरु पर्ने र छाला मा गोला गोला दानाहरु देखिने हुन सक्छ ।
    • श्वासप्रश्वास छिटो हुने ।

    रोग को निदान

    यदि तपाईंको बच्चा लाई घाँटी को संक्रमण भएको थाहा पाउनुभयो भने तुरुन्त डाक्टर लाई देखाइहाल्नु उचित हुन्छ। बच्चा का लक्षणहरु हेरेर डाक्टर ले तपाईंको बच्चा लाई बाथज्वरो भए नभएको पत्ता लगाउने छन् । डाक्टर ले निम्न किसिम का जाँच गरी तपाईं को बच्चा मा स्ट्रेप्टोकोकस ब्याक्टेरिया को संक्रमण भए नभएको पत्ता लगाउने छन् ।

    • रगत मा सो ब्याक्टेरिया भए नभएको जाँच
    • मुटुको धडकन पत्ता लगाउन इसीजी
    • मुटु सुन्निए नसुन्निएको जाँच गर्न छाती को एक्स रे
    • मुटु का भल्भहरु को स्थिति पत्ता लगाउन इकोकार्डियोग्राम
    • कुहिनो घुँडा नाडी आदि का जोर्नीहरु सुन्निए नसुन्निएको जाँच

     

    उपचार

    डाक्टर ले रोग को निदान भइसकेपछि निम्न किसिम ले उपचार गर्ने छन् –

    • स्ट्रेप्टोकोकस ब्याक्टेरिया लाई निर्मूल पार्न का लागि उपयुक्त एन्टिबायोटिक खुवाउनु ।
    • जोर्नीहरु सुन्निएको कम गर्न तथा ज्वरो घटाउनका लागि आवश्यक औषधि खुवाउनु ।
    • मुटु समेत सुन्निएको देखिएमा पिसाब लगाउने औषधि का साथ मा अन्य आवश्यक औषधि खुवाउनु ।
    • बिरामी ले आफूलाई सकुशल भएको महसूस गर्दा गर्दै पनि आराम गर्न लगाउनु ।
    • हातखुट्टाहरु अनैच्छिक तरीकाले काम्ने लक्षण देखिएको खण्ड मा उपयुक्त औषधि खुवाउनु ।
    • मुटु लाई बढी क्षति हुन नदिन एन्टिबायोटिक को लामो समय प्रयोग गर्नु । तर कुनै कुनै बिरामी कुनै प्रकार का एन्टिबायोटिक हुने हुँदा त्यस्तो देखिएमा तेसको सट्टा अन्य एन्टिबायोटिक को प्रयोग गर्नु पर्छ ।

    रोकथाम का उपायहरु

    • टन्सिल बढेमा वा दुखेमा तुरुन्त चिकित्सक को सल्लाह लिएर औषधि सेवन गर्ने ।
    • पटक पटक हुने बाथज्वरो का कारण बाथ मुटुरोग देखा पर्छ । यदि बाथज्वरो को समय मै उपचार गरिएन भने बाथज्वरो का कारण घाँटी मा सक्रिय रहेका ब्याक्टेरियाहरु को असर सजीलै मुटु सम्म पुग्न सक्छ र मुटु का भल्भ मा क्षति पुग्न सक्छ । यसबाट जोगाउन का लागि बाथज्वरो भइरहने बिरामीले कम्तिमा २५ वर्ष को नहुँदा सम्म नियमित एन्टिबायोटिक लिनुपर्छ भने मुटु को भल्भ मै क्षति भएको भए जीवनभरि लिनुपर्ने पनि हुन सक्छ ।
    • बाथज्वरो का रोगीहरु सँग सम्पर्क गर्दा बिरामी को खोकी छिंक सिँगान सँग लसपस नगर्ने ।
    • भीडभाड को बसाई ब्यारेक होटेल मा बस्ने किशोर किशोरी ले स्वास्थ्यबर्धक बानी अपनाउनु का साथै प्रदूषणयुक्त वातावरण बाट टाढा रहने उपायहरु जस्तै मास्क लगाउने आदि अपनाउने ।
    • दाँत को सरसफाइ मा ध्यान दिने ।
    • बच्चालाई पोषिलो र सन्तुलित खानेकुरा खान दिने ।
    • बच्चा को जीवनशैली लाई निष्क्रिय हुन नदिने ।
    • अन्य रोग को उपचार का क्रम मा शल्यक्रिया गर्नुपरेको खण्ड मा एक पटक बालमुटुरोग विशेषज्ञ वा मुटुरोग विशेषज्ञ को परामर्श लिने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper