छाती को दुखाई तथा कक्रक्याई (Chest Pain)

संपरीक्षक दिनेश धरेल

परिचय :

काँधदेखि मुनि तल्लो करंगसम्म को भागमा हुने दुखाईलाई छातीको दुखाई भनिन्छ । छातीको दुखाई तथा कक्रक्याई कहिलेकाहीं हृदयाघातका कारणले उब्जिएको गम्भीर लक्षण पनि हुन सक्छ। तर छाती दुख्दैमा त्यसलाई हृदयाघातकै लक्षण ठानी हाल्नु पनि हुँदैन । छातीको दुखाईले अस्पतालको आकस्मिक कक्ष छिरेका धेरैजसो मानिसहरुमा मांसपेशी दुखाई, असन्तोष वा चिन्ता, अम्लपित्त जस्ता अन्य समस्याहरु देख्ने गरिएको छ । जे होस् छातीको दुखाईलाई यो यही हो भनेर निश्चय गर्न गाह्रो हुन्छ ।

 

यस्तो किन हुन्छ ?

यदि तपाईंलाई छाती दुखाई तथा कक्रक्याई गम्भीर रुपले भएको छ भने त्यो असामान्य पनि हुन सक्छ । यदि पहिले पनि हृदयाघात भएको थियो भने यो दुखाईलाई अरु महत्वका साथ लिनुपर्ने हुन्छ । हृदयाघातले छातीमा तिब्र पीडा हुनुका पछाडी मुटुका मांसपेशीमा भएको अरक्तता सम्बन्धी (इस्कमिक) क्षति ले भूमिका खेलेको हुन्छ । जब मुटु मा रगत लैजाने धमनीहरु मा अवरोध उत्पन्न हुन्छ र मुटु का मांसपेशी रगत अभावका कारण क्षतिग्रस्त हुन्छन् तब मुटु मा असह्य पीडाको जन्म हुन्छ । कहिलेकाहीं त यस किसिमको मुटु दुखाई पछि मुटु नै फेल भएर ज्यानै लिन पनि सक्छ। छाती दुखाई का अरु सामान्य कारणहरु मा छाती का मांसपेशी मा भएको सुजन वा क्षति, अम्लपित्त वा मानसिक तनाव आदि हुन सक्छन् जसको निर्क्योल विभिन्न विशेष जाँचहरु द्वारा गरिन्छ ।

 

कारणहरु :

क. हृदयाघात (मियोकार्डीअल इन्फार्क्सन) अथवा एन्जाइना :

छाती दुख्नुको एउटा महत्वपूर्ण कारण हृदयाघात हो, जसले ज्यानै लिन पनि सक्छ । मुटु का मांसपेशी मा रगत लैजाने कोरोनरी धमनीहरुमा अकस्मात भएको अवरोधले यस किसिम को दुखाई अनुभूत हुन्छ जसलाई डाक्टरी भाषामा एन्जाइना भनिन्छ । कोरोनरी धमनी का भित्री भित्ताहरु मा बोसो थुप्रिदै जानाले धमनीहरु साँगुरिदै जान्छन् र मुटु का मांसपेशी मा यथेष्ट रक्त प्रवाह हुँदैन । फलस्वरूप एन्जाइना अर्थात् कडा प्रकार को छाती को दुखाई महसुस हुन्छ । यस समस्या का पछाडी अनेक कारक तत्वहरु छन् । ती मध्ये कतिपय सुधार गर्न नसकिने खालका हुन्छन् भने कतिपय सुधार गर्न सकिने खालका हुन्छन् । सुधार गर्न सकिने खालका कारक तत्वहरू निम्न प्रकारका छन् :

  • धुम्रपान
  • मधुमेह
  • उच्च रक्तचाप
  • मोटाई
  • अस्वस्थकर खानपान, मुख्य गरेर चिल्लोयुक्त खानेकुरा
  • निष्क्रिय र तनावयुक्त जीवन

ख. कोस्टोकोंड्राइटिस : यो प्राय धेरै जनामा देखिने सामान्य छातीको दुखाई हो । स्तनको मुनिपट्टि करङ र कार्टिलेज अर्थात् कुरकुरे हाडका बीच सुन्निएको भए यस किसिमको दुखाई महसुस हुन्छ ।

ग. मुखबाट अमिल्चुक आउने रोग : सामान्यतया मुटु पोल्यो भनिने यो रोग मुखबाट हुचुक्क अमिलो पानी आउने समस्यासँग सम्बन्धित छ। यो रोगमा आमाशय भन्दा माथी झण्डै छातीको बीच भागमा हृदयाघात जस्तै लाग्ने गरी समय समयमा दुख्ने र पोल्ने हुन्छ।

घ. तनाव : जब डर, चिन्ता, तनावले मन उद्वेलित हुन्छ तब यसले शारीरिक रूपमा छाती दुख्ने र पोल्ने जस्ता लक्षण देखाउँछ ।

ङ. प्ल्युरिसी : निमोनिया, फोक्सोको क्षय, फोक्सोमा रगत जम्नु जस्ता घटनाहरुले फोक्साको वरिपरि रहेको प्ल्युरा सुन्निने सम्भावना हुन्छ जसलाई प्ल्युरिसी भनिन्छ । विशेष गरेर छातीमा फोक्सो वरिपरि रहेको सो प्ल्युरा संक्रमणद्वारा प्रभावित अवस्थामा दवाव पर्यो भने दुखाईको अनुभूति हुन्छ, जस्तो कि लामो सास फेर्दा वा खोक्दा ।

च. अन्य कारणहरू : छाती दुख्नुका अरु पनि अनेक कारण हुन सक्छन् जसमध्ये केही यसप्रकार छन् :

  • हृदयाघात भन्दा बाहेकका मुटुका समस्या, जस्तो कि मुटुका मांसपेशीको संक्रमण
  • फोक्सो प्रभावित समस्याहरू, जस्तो कि निमोनिया, न्युमोथोरक्स (फोक्सो बाहिर हावा हुनु), फोक्सोको अन्त:शल्यता (फोक्सोका रक्तावाहिनी नलीहरू मा रगत जम्नु)
  • पाचन नलीका समस्याहरू, जस्तो कि ग्यास्ट्राइटिस, पाचन नलीमा हुने घाऊ वा इर्रिटेबल बोवेल सिंड्रोम
  • ठेउला, जनैखटिरो जस्ता रोग पछि देखिने भैंसे दाद, राता चाला आदि
  • शल्य क्रिया लगायतका छातीमा भएका कुनै पनि क्षति

 

चिकित्सक लाई  कहिले भेट्ने ?

कुनै पनि नौलो र गम्भीर खालको छातीको दुखाई महसुस भयो भने तत्कालै डाक्टरलाई देखाई हाल्नु पर्छ। के थाहा न त्यो हृदयाघात जस्तो गम्भीर विमारी पो हो कि !? यदि गम्भीर  दुखाई केही मिनटसम्म रहिरह्यो वा पुनः दोहोरियो भने र त्यसका लक्षणहरु तलकासँग मेल खायो भने हृदयाघात भएको हुन सक्छ :

  • आकस्मिक रूपमा शुरु भएको दुखाई तथा छातीको मध्यभागमा कसैले समाते जस्तो असहज अवस्था
  • पाखुरा, घाँटी, बंगारा, पिठ्यूँमा पनि तेस्तै दुखाई तथा असहजताको अनुभूति
  • हिँड्दा वा सिंढी चढ्न खोज्दा वा कुनै पनि शारीरिक क्रियाकलाप गर्न खोज्दा दुखाई मा अरु तिब्रता महसुस हुनु
  • श्वासप्रश्वास छिटछिटो हुनु र स्याँ स्याँ हुनु
  • जाडोको अनुभूति सँगै छालामा चिप्चिपाहट हुनु वा पसिना आउनु
  • अनियमित र त्वरित हृदयगति हुनु
  • रिंगटा लागेको वा बेहोशीको अनुभूति हुनु
  • मतमताहट हुनु, वाक्वाकी लाग्नु वा छाती पोल्नु
  • कुनै पनि कुरा हुनु जसले चिन्तित तुल्याउँछ, विशेष गरी पहिले पनि हृदयाघात भएको अवस्था, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल आदि

 

उपचार का विकल्पहरु :

हृदयाघात नै भएको अवस्थामा पनि कहिलेकाहीं मानिसहरूले छातीको दुखाईलाई सामान्य र केही समय मै आँफै हराएर वा निको भएर जाने सोचेर अस्पताल वा चिकित्सकको सहयोग लिन ढिलाई गर्छन् । यसो गर्नाले मुटुमा स्थायी र गम्भीर क्षतिको जोखिम व्यहोर्नुपर्ने हुन सक्छ । यहाँ सम्म कि आकस्मिक मृत्यु हुने सम्भावना पनि रहन्छ ।

यदि तपाईंमा हृदयाघात हुन सक्ने कारक तत्वहरु छन् र तपाईंले छाती दुखेको महसुस गर्नु भयो भने तत्काल आफुले गरिरहेको कामबाट विश्रान्ति लिनुहोस् र चाँडो भन्दा चाँडो अस्पताल पुग्ने कोशिस गर्नुहोस् । अस्पतालको आकस्मिक कक्षमा ईसीजी, छातीको एक्सरे र रक्त परीक्षण जस्ता केही जाँचहरू हुने छन्, जसले तपाईंलाई साँच्चीकै मुटुको समस्या भएको हो कि होइन भनेर किटान गर्न सघाउने छन् । तपाईंलाई तत्कालै अक्सिजन र केही औषधि दिएर तपाईंको दुखाई लाई घटाउने छन् र मुटुलाई अरु क्षति हुनुबाट जोगाउने छन् ।

जे भए पनि छाती दुखाईका अरु कारणहरू हृदयाघात जस्ता गम्भीर हुँदैनन् । छाती पोलेको अवस्थामा डाक्टरले तपाईंलाई अम्ललाई प्रभावहीन पार्ने औषधि वा भित्र हुने अम्लस्रावलाई घटाउने औषधि दिने छन् । तपाईंले नियमित रूपमा खाना खानु पर्ने छ, यथेष्ट पानी पिउनु पर्ने छ र रक्सी बार्नु पर्ने छ। दुखाई कम गर्ने औषधि सेवन गर्दा तथा चिसोले सेक्दा पनि मांसपेशी तथा करङ दुखाईमा राहत महसुस हुन्छ ।

 

सम्बन्धित शीर्षकहरु :

Heart Attack

Send us your feedback on this article

* Enter Name* Enter Email Address* Enter Message

सम्पर्क ठेगाना

  • निरोगी नेपाल
  • Dhumbarahi, Kathmandu, Nepal
  • info@niroginepal.com
  • +977 1 44 22 956

निरोगी नेपाल को समाचार-पत्र का लागि आफ्नो नाम दर्ता गराई महत्त्वपूर्ण घटना को अद्यावधिक जानकारी राख्नुहोस्

foot-logo

स्वस्थ जनता स्वस्थ देश

पुनश्च: यस वेभसाइट मा दिइएका कुराहरु सामान्य जानकारी का लागि हो । कुनै पनि विज्ञ स्वास्थ्यकर्मी को सल्लाह र सेवा लाई विस्थापन गर्नका लागि होइन । यस साइट मा राखिएका जानकारीहरु लाई स्तरीय, आधिकारिक बनाउन र कुनै पनि विषयवस्तु नछुटाउन हर सम्भव प्रयास गरिएको भए पनि 'निरोगी इन्क' तथा यसको भ्रातृसंस्था 'निरोगी नेपाल' प्रकाशित सामाग्री मा छुटेका कुराहरु र त्रुटिहरु प्रति जवाफदेही छैनन् । हामी पाठक लाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या को निदान, उपचार तथा सल्लाह का लागि सुयोग्य चिकित्सक सँग परामर्श लिने सल्लाह दिन्छौं ।

© 2017, Nirogi Inc. सर्वाधिकार सुरक्षित. Terms of Use डिजाइन पार्टनर: Web Creation Nepal

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper