घाँटी मा घाऊ (Sore Throat)
परिचय :
घाँटी को दुखाई (फयारेंजैटिस र टन्सिलाइटिस) घाँटी र गला को तह को सूजनबाट हुने पीडा, जलन र चिलाउने समस्या सँग सम्बन्धित हुन्छ । यो प्रायजसो बालबालिका मा हुने संक्रमण को कारण ले हुने भएता पनि अरु उमेरका व्यक्तिलाई अरु कारणहरु ले पनि हुने सम्भावना हुन्छ । घाँटीको खसखस, घाँटीमा ग्रन्थीहरू सुन्निनु, दबिएको आवाज, निल्न गाह्रो र कण्ठनलीमा सेता धब्बाहरू निस्कनु यसका लक्षण हुन् । घाँटी दुखेका व्यक्तिहरू ले ज्वरो, ठंडी, शरीर दुख्ने, टाउको दुख्ने, खोकी र नाक बाट पानी बग्ने जस्ता अन्य लक्षणहरू पनि अनुभव गर्न सक्छन् ।
घाँटी दुखनु सामान्यतयाः भाइरस को संक्रमण बाट हुने गर्दछ र कम समय को लागि हुनुका साथै घरेलु उपचार बाट निको पनि हुन्छ । तथापि व्याक्टेरिया ले गर्दा घाँटीको संक्रमण भएमा पीप पनि जम्न सक्दछ जसको उपचार एन्टिबायोटिक बाट गर्नुपर्दछ । केही स्ट्रेप्टोकोकस ब्याक्टेरिया का कारण मुटु का भल्भ मा असर गर्ने बाथ ज्वरो वा मृगौला मा असर गर्ने ग्लोमरूलोनेफ्राइटिस जस्ता जटिलता उत्पन्न हुन सक्दछन् ।
कारणहरू :
१. भाइरल संक्रमणः घाँटी दुख्ने रोगको यो मुख्य कारण हो । भाइरसद्वारा कण्ठनलीको सूजन इन्फ़्लुएञ्जा (फ्लू) भाइरस, राइनोभाइरस्, एडेनोभाइरस (एप्सटिन–बार भाइरस (EBV), साइटोमेगालो भाइरस (CMV), आदि ले गर्दा हुन सक्दछ ।
२. ब्याक्टेरियल संक्रमणः कीटाणु द्वारा हुने टन्सिल वा घाँटी को संक्रमण, भ्यागुते रोग आदि
३. ट्यूमरः घाँटी र गलाको क्यान्सर
४. वातावरणीय तत्वहरूः वातावरणबाट हुने एलर्जीजन्य प्रतिक्रियाहरू । जस्तैः ढुसी, पाल्तु पशुहरूको चायाँ, पराग, वायु प्रदूषण वा चूरोटका धूवाबाट पनि घाँटी दुख्न सक्छ ।
चिकित्सक लाई कहिले भेट्ने ?
- १०१ डिग्री फरेनहाइट भन्दा बढीको ज्वरो आएमा, जोर्नीको दुखाई भएमा, साँस लिन वा निल्न गाह्रो भएमा, घाँटीको सूजन भएमा, छालामा डाबर आएमा, गाढा पिसाबसँगै गला बसेमा ।
- एक हप्ताभन्दा बढी समयसम्म घाँटी दुखेमा ।
घरेलु उपचार :
घाँटी दुखेको समस्यामा निम्न प्रकारका घरेलु उपचार गर्न सकिन्छ:
- मनतातो नूनीलो पानीले कुल्ला गर्ने जसले घाँटीमा भएको दुखाई कम गरी घाँटीलाई आराम दिन्छ ।
- पर्याप्त पानी पिएर पर्याप्त जलयोजन (हाइड्रेसन) गर्ने ।
- सामान्य तरल पदार्थहरू जस्तैः मह मिसाएको मनतातो पानी वा नरम चिसो खाना जस्तैः हलुवा वा दुग्ध पदार्थ लिने ।
- एलर्जी जन्य तत्वहरू जस्तैः धूवाँ, रसायन वा धूलो आदि बाट जोगिने ।
- वाफ लिने र हावाको आद्रीकरण गर्ने जस्तैः तातो बाफयुक्त स्नानगृहमा धेरै समयसम्म बस्ने।
- पारासिटामोल वा इबुप्रोफेन औषधी सेवन गरी जलन र दुखाई कम गर्ने । पेप्टिक अल्सर भएका रोगीहरूले र रक्तश्रावको जोखीम भएकाहरूले यस्ता औषधी सेवन गर्न हुँदैन र वालवालिकालाई एस्पिरिन खुवाउनु हुँदैन ।
उपचार का विकल्पहरू :
घाँटी दुखाई को उपचार तेसको कारण र गम्भीरतामा निर्भर गर्दछ । रोगको इतिहास हेरेर र शारीरिक परीक्षण, कंठश्राव र रगत जाँचबाट घाँटी दुखेको कारण पत्ता लगाउन सकिन्छ ।
- घाँटी दुखेका धेरैजसो समस्याहरू आफै निको हुने खालका हुन्छन् र पारासिटामोल र मनतातो नूनीलो पानीले कुल्ला गर्दा निको हुन्छ ।
- स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने घाँटी दुखेको उपचार एन्टिबायोटिकबाट गरिन्छ ।
- स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने जटिल खालको घाँटी दुखाई को उपचारका लागि पीप निकाल्नु पर्दछ वा वाथज्वरो भएकाे छ भने फेरि फेरि मुटु मा असर पर्न नदिन का लागि पूरै राेकथाम गर्न लामो समय सम्म एन्टिबायोटिक खानु पर्दछ ।
- नाक बन्द भएमा नाक खोल्ने (डिकन्जेस्टेन्ट) र नाकको स्टेरोइड आवश्यक पर्दछ ।
- बारम्बार भइरहने घाँटी दुखाईका लागि टन्सिल हटाउन गरिने शल्यक्रिया आवश्यक पर्न सक्छ ।
Send us your feedback on this article