यदि तपाईंलाई सामान्य भन्दा बढी अर्थात् दिनमा ३ लिटर भन्दा बढी वा उमेर अनुसार ४ मि लि प्रती के जि भन्दा बढी पिसाब लाग्दछ भने त्यो असामान्य हुन्छ । तपाईंलाई सामान्य भन्दा धेरै छिटोछिटो पिसाब लाग्छ र प्रत्येक पटक असामान्य तरिकाले बढी मात्रामा पिसाब लाग्दछ । यो समस्या कुनै पनि उमेर समुहमा विभिन्न कारणले हुन सक्छ जुन दिनमा वा रातमा हुन सक्छ ।
जब शरीरले बढी मात्रामा पिसाब उत्पादन गर्दछ तब त्यति नै मात्रामा पानी खाइएन भने जलविनियोजन हुन सक्छ । धेरै पिसाब हुंदा कडा जलविनियोजन हुने स्थिती कमै हुन्छ तर यदि त्यस्तो भएमा तुरुन्तै उपचार गर्नुपर्दछ । नत्र अन्य गम्भीर समस्याका साथै मृत्यु पनि हुन सक्छ ।
कारणहरु:
- मद्यपान र चिया कफी पिउनु
- विभिन्न औषधीको प्रयोग जस्तै सुन्निएको बेलामा खाने औषधी, एक्सरे गर्दा प्रयोग गरिने औषधी, मानसिक रोगमा खाने औषधी
- मधुमेह
- diabetes insipidus नामको रोग जसमा पिट्युटरी ग्रन्थीले उत्पादन गर्ने हर्मोनको कमी भएर मृगौलाले शरीरमा पानीको मात्रा सन्तुलन गर्न सक्दैन
- मृगौलाले काम गर्न नसक्नु
- धेरै तिर्खा लागेको महसुस हुने मानसिक रोग
- शरीरमा क्याल्सियमको मात्रा घट्बढ हुनु
- पिसाबको संक्रमण जसमा छिटो छिटो पिसाब लाग्दछ
- गर्भावस्था
- मधुमेहमा अत्याधिक पिसाब हुनु: अत्याधिक पिसाब हुनु मधुमेहको पहिलो लक्षण हो र यदि मधुमेह पत्ता लागिसकेको छ भने चिनीको मात्रा बढ्न गएको संकेत हो । रगतमा चिनीको मात्रा बढी भएमा शरीरले धेरै पानी प्रयोग गरी पिसाब उत्पादन गरी चिनीको मात्रा घाटाउंछ ।
डाक्टर सँग कहिले भेट्ने ?
यदि तपाईंलाई सामान्य भन्दा बढी पिसाब हुन थालेको छ भने तपाईं आफुले दैनिक रुपमा कति पानी पिउनुहुन्छ र कति पिसाब फेर्नुहुन्छ भन्ने कुरा केहि दिन विचार गर्नुहोस् । यदि औषधी वा धेरै पानी नपिउंदा पनि पिसाब धेरै भैरहेको छ भने डाक्टरसँग सम्पर्क गर्नुपर्दछ । निम्न अवस्थामा डाक्टरसँग सल्लाह लिनु पर्दछ स्
- दिन मा ३ देखी २० लिटर सम्म अत्याधिक मात्रामा पिसाब हुनु
- धेरै पानी पिउंदा पनि तिर्खा नमेटिनु
- दिनमा वा रातमा धेरै छिटो छिटो पिसाब हुनु
- जलविनियोजन हुनु
- थकान, अनिद्रा र ध्यान दिन सक्ने क्षमता घट्नु
- टाउको दुख्नु, बान्ता हुनु, आंखा धमिलो हुनु
- बच्चा झिंझिनु, पिसाब रोक्न नसक्नु, राती निद्रामा पिसाब फेर्नु, खानामा रुचि घट्नु, बढ्न नसक्नु, तौल घट्नु
- यदि तपाईंलाई यी लक्षण भर्खरैको टाउकोको चोट वा मस्तिस्कको अप्रेसन पछि देखिएका छन् भने तुरुन्त डाक्टरकहाँ जानु पर्छ । तपाईंलाई गम्भीर झाडा बान्ता भएको छ भने पनि तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।
जांच र उपचार:
तपाईंको डाक्टरले अत्याधिक पिसाब उत्पादन धेरै पानी पिउनाले गर्दा हो वा पानी पिएको अनुपात भन्दा पिसाब धेरै नै भएको हो भन्ने यकिन गर्नेछन् । तपाईंको सम्पूर्ण लक्षणहरु, खाइरहनु भएका औषधीको बारेमा सोध्नेछन् र सम्पूर्ण शारीरिक जांच पनि गर्नेछन् । तपाईंलाई निम्न मध्ये केहि जांचहरु गर्न लगाइनेछ:
- रगतमा चिनीको मात्रा
- मृगौलाको जांच
- पिसाब मा चिनी, प्रोटिन, रक्तकोश आदिको जांच
- पिउने पानीको मात्रा घाटाएर पिसाबको मात्रा नाप्ने जांच
- रगतमा Antidiuretic हर्मोनको जांच
- मस्तिस्क को CT Scan / MRI
बढी मात्रा मा पिसाब हुने समस्या को उपचार यसको कारण मा भर पर्दछ ।
मधुमेहमा हुने अत्याधिक पिसाब लाग्ने समस्यालाई खाना बारेर, औषधी र इन्सुलिन प्रयोग गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गरी उपचार गरिन्छ ।
यदी मस्तिस्कको ट्युमरले भएको हो भने अप्रेसन गर्नु पर्दछ, टाउकोको चोट वा अप्रेसनका कारणले हो भने चाहीं त्यो अस्थायी हुन्छ ।
कुनै औषधीको नकारात्मक असरको कारणले भएको हो भने डाक्टरको सल्लाह लिइ औषधी बन्द गर्नुपर्छ । कम गम्भीर समस्यामा खानामा नुन र प्रोटिन कम गर्ने र प्रशस्त पानी पिउने गर्नुपर्छ । बढी गम्भीर अवस्थामा औषधी खानुपर्छ जसले मृगौलाबाट उत्पादन हुने पिसाबको मात्रा घटाउंछ ।
रोकथाम र स्वउपचार:
जलविनियोजनबाट जोगिन प्रशस्त पानी पिउने, गर्मीमा विशेश ध्यान दिने
शरीरमा पानीको मात्रा बढी हुन नदिने, जसको लक्षण टाउको दुख्ने, रिंगटा लाग्ने, तौल बढ्ने, बेहोस हुने आदि हुन सक्छन् ।
Desmopressin खांदै हुनुहुन्छ भने डाक्टरले बताए अनुसार पानीको मात्रा नियन्त्रण गर्नुपर्दछ ।
Send us your feedback on this article