उपेन्द्र खड्का । काठमाण्डू । २६ वर्षको उमेर पुग्दा पनि उनी महिनावारी भइनन् । पिसाबमा भने कुनै समस्या थिएन । प्रायः १३ वर्षको उमेरपछि महिनावारी हुनुपर्नेमा उनमा त्यसको लक्षण नै देखिएन ।
महिनावारीको महत्वबारे जान्ने भए पनि उनी तनावमा परिन्, परिवार त तनावमै थियो । महिनावारी नै नभएपछि बच्चा जन्मिने कुरै भएन । त्यसैले उनले विवाहसमेत नगर्ने योजना बनाइसकेकी थिइन् ।
समस्या खुट्टयाउन अस्पताल जाँदा थाहा भयो उनको शरीरमा हुने पिसाब नली, गुदद्वार र योनिमार्गमध्ये योनिमार्ग नै रहेनछ । उनको परीक्षणमा संलग्न वरिष्ठ कन्सल्टेन्ट तथा स्त्रीरोग विशेषज्ञ डा. आशा सिंहले योनिमार्ग बनाउन सकिने सुझाव दिए पनि ३ वर्षअगाडि उनले हिम्मत गरिनन् ।
तीन वर्षपछि उनै युवती अस्पताल फर्किइन् परिवारको सदस्यसहित । वरिष्ठ कन्सल्टेन्ट पिडियट्रिक सर्जन प्रा.डा.रामनन्दनप्रसाद (आरपी) चौधरीका अनुसार युवतीको थप स्वास्थ्य जाँच गर्दा उनको पाठेघर पनि सानो देखियो । गुप्ताङ्गमा योनिको सामान्य आकार भने देखियो ।
एमआरआई गर्दा पनि योनिमार्ग र पाठेघर देखिएन । पाठेघर सुकेको थियो । पाठेघर सुक्नुलाई मेडिकल भाषामा एट्रोफ्री भनिन्छ ।
युवती र उनको परिवारलाई उनको स्वास्थ्य अवस्था र उपचार पक्रियाबारे जानकारी गराए चिकित्सकले । शल्यक्रियाको जटिलता र जोखिमबारे बताए ।
परामर्शपछि युवती र उनको परिवार सल्यक्रियाका लागि राजी भए । किनकि २ महिनापछि ती युवतीको विवाहको तयारी भइरहेको रहेछ । परिवारसमेत राजी भएपछि चिकित्सक शल्यक्रियाका लागि तयार भए ।
शल्यक्रिया गर्नु दुई दिनअगाडि उनलाई अस्पतालमा भर्ना गरियो । डा. चौधरीका अनुसार मंसिर २१ मा उनको सफल सल्यक्रिया भयो ।
शल्यक्रियामा युवतीको ठूलो आन्द्राको सानो भागलाई निकालेर योनिको प्वाल हुने ठाउँमा राखेर योनिद्वार बनाइएको थियो । युवतीको भेजाइना रिप्लेस्मेन्ट सर्जरीमार्फत योनिमार्ग बनाइएको डा. चौधरीले जानकारी दिए ।
अवस्था अनुसार कतिपयलाई भने आन्द्रा नल्याए पनि उपचार गर्न सकिने चिकित्सक बताउँछन् ।
के हो समस्या ?
जन्मजातै योनिमार्ग नहुने समस्यालाई ‘मेयर रोकिटान्स्की कस्टर हसर सिन्ड्रोम’ भनिन्छ । योनिमार्ग नहुने भेजाइना एट्रेजियाको समस्या करिब पाँच हजार महिलामा एकजनालाई देखिने बताउँछन्, डा. चौधरी । तर २६ वर्षीय ती युवतीको समस्या भने अति नै दुर्लभ भएको उनले बताए ।
प्रसूति गृह, थापाथलीका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डाक्टर गेहनाथ बराल एकदेखि तीन प्रतिशत बच्चामा विभिन्न किसिमका जन्मजात समस्या हुने बताउँछन् ।
ती युवतीमा क्रियाशील नभएको दुई गर्भाशयसमेत थियो । पाठेघर सुकेकाले बच्चा जन्माउने अवस्था थिएन । भविष्यमा क्यान्सर हुने जोखिम भएकाले चिकित्सकले पाठेघर निकालिदिए । ती युवतीको योनिमार्ग बनेकाले यौन सम्बन्धमा कुनै समस्या नहुने भए पनि भविष्यमा महिनावारीसमेत हुँदैन । तर डिम्ब भएकाले वैकल्पिक उपायबाट बच्चा जन्माउन सकिन्छ ।
डा. चौधरीका अनुसार ती युवतीको डिम्ब भएकाले पुरुषको बीर्य र उनको डिम्बलाई फर्टिलाइज गरी गर्भाधान गराएर अन्य कोही स्वस्थ महिलाको पाठेघरमा राखिदियो भने बच्चा जन्मिन सक्छ । तर नेपालमा सरोगेसी प्रतिबन्धित छ ।
ती युवती जेनेटिकल्ली फिमेल भएको बताउँछिन् डा. सिंह । पुरुष वा महिला छुट्याउने क्यारियोटाइप ब्लड टेस्ट गर्दा उनमा महिलाकै गुण देखिएको डा. चौधरीले बताए । क्रोमोजोमको र हर्मनको जाँच गर्न भने भारतमा पठाइएको छ ।
जोखिम शल्यक्रिया
सल्यक्रिया गर्न करिब ६ घण्टा लागेको थियो । ठूलो आन्द्रा काटेर आन्द्रा काटेको भागलाई योनि बनाउने शल्यक्रिया जटिल भएको चिकित्सक बताउँछन् । इन्फेक्सनको जोखिम पनि उत्तिकै थियो । काटेको भागमा रक्तसञ्चारका लागि नसा आवश्यक थियो । नत्र सुक्ने जोखिम भएर अप्रेसन नै फेल हुने जोखिमसमेत थियो ।
यस्तो किसिमको सर्जरी गर्दा पिसाबको थैली ड्यामेज हुने, पिसाबको पाइप ड्यामेज हुने, दिसा गर्ने ठाउँको प्वाल तथा पर्खाल ड्यामेज हुने जोखिम भए पनि युवतीको त्यस्तो कुनै समस्या नभएको चौधरीले जानकारी दिए ।
‘बिरामीको सबै कुरा सामान्य भयो,’ डा. चौधरीले भने, ‘अहिले बनाएको योनिमार्गले राम्रो काम गर्नसक्छ ।’ तर सर्जरी गरेर बनाएको योनि सामान्य व्यक्तिको जस्तो भने नहुने बताउँछन्, उनी ।
शल्यक्रियाबाट बनाएको योनिमार्ग सामान्य र प्राकृतिक योनिजस्तो हुँदैन । बनाइएको योनिमार्गको (प्वाल) खुम्चिने डर हुने बताउँछन्, चिकित्सक ।
यसको समाधानका लागि डाइलेटेसन पद्धति अपनाएर तन्काइरहनु पर्छ । जुन चिकित्सकको सल्लाहमा आफैँले पनि गर्न सकिन्छ ।
जन्मजात समस्या
ती युवतीको समस्या जन्मजातै थियो । परिवारका सदस्यले बच्चामा तेल लगाउँदा ध्यान दिन सकेको भए उही समयमै समस्या थाहा हुनसक्ने चिकित्सकले बताए । १२÷१३ वर्षको उमेरमा पनि महिनावारी नहुँदा ख्याल गर्नुपर्ने डा. चौधरीको सुझाव छ । सामान्यतयाः महिनावारी हुने समयमा यस्तो समस्या थाहा पाउन सकिन्छ ।
चिकित्सकका अनुसार आमाको पाठेघरमा १२ देखि १८ हप्ताको समयमा भ्रुणको वृद्धि हुँदा शरीरका विभिन्न भाग बन्छन् । शिशुको शरीर बन्ने क्रममा कुनै बाधा वा रोकावट आएको खण्डमा यस्ता समस्या हुन्छन् ।
गर्भका तीनवटा ट्राइमेस्टर हुन्छ । पहिलो तीन महिना अति संवेदनशील हुने भएकाले सो समय अति संवेदनशील हुने बताउँछन्, चिकित्सक ।
डा. सिंह पनि पहिलो तीन महिना मानवीय अंगको विकासको क्रममा गडबढी भएको खण्डमा शरीरमा विभिन्न समस्या हुने बताउँछिन् । हर्मनको कारणले पनि यस्तो समस्या हुनसक्छ ।
डा.बरालका अनुसार जन्मजात के कारणले यस्तो समस्या हुन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न । पाठेघर तथा योनिमार्गको विकास हुने क्रममा विभिन्न भाग मिलेर बन्छन् । त्यही समयमा हुने असन्तुलनले गर्दा बच्चाको योनिको प्वालै नहुनेलगायतका समस्या हुन्छन् । बरालका अनुसार तीनवटा तह मिलेर बच्चा बन्छ । शिशुको स्वरुप आउनुभन्दा अघि बाहिरी, भित्री र बीचको गरी तीन पत्र हुन्छन् । तीनै पत्रबाट शरीरका विभिन्न अंग बन्छन् । त्यही अंग बन्नेक्रममा असन्तुलन हुँदा शिशुका शरीरका अंग राम्रो नबन्ने तथा राम्रो नहुने जोखिम हुन्छ ।
१५ जना को उपचार
पहिलोपटक नेपालमा यस्तो प्रकृतिको सर्जरी सार्वजनिक भए पनि नौलो भने हैन । २४ वर्षको अनुभवमा करिब १५ जनामा भेजाइनल एट्रेजियाको समस्या भएकालाई उपचार गरिएको डा. चौधरीले जानकारी दिए ।
सामान्यतया १२-१३ वर्षको उमेरमा उपचार गरिने भए पनि २६ वर्षीय ती युवतीको उपचार भने दुर्लभ र पहिलोपटक भएको उनले बताए ।
साभार : shukrabar.nagariknetwork.com
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्