हृदयाघात (Heart Attack)

संपरीक्षक डा. नारायण बहादुर बस्नेत, MBBS, PG Pediatrics, Ph.D.

     

    परिचय :

    मुटु स्वयं ले रगत बोकिरहेको भए पनि उसले सोझै आँफूले बोकेको रगत बाट अक्सीजन तथा पोषक तत्त्व ग्रहण गर्न सक्दैन । उसलाई नियमित रुपमा अक्सीजन तथा पोषक तत्त्व को आपूर्ति गर्न रगत ल्याउने काम केही रक्तनलीहरु ले गर्दछन् । तिनलाई कोरोनरी आर्टेरी भनेर चिनिन्छ । ती मुख्यतः तीन वटा छन् । यदि ती आर्टेरीहरु साँघुरिए भने वा कुनै कारण ले थुनिए भने रगत को प्रवाह मा अवरोध हुन्छ र मुटु ले आवश्यक मात्रा मा अक्सीजन र पोषक तत्त्व प्राप्त गर्न सक्दैन । अक्सीजन र पोषक तत्त्वको अभाव हुनु सँगै मुटु का कोषहरु को मृत्यु हुन थाल्छ । यदि एकैचोटि थुप्रै कोषहरु को मृत्यु भयो भने मुटु धड्कने कार्यमा समेत बाधा हुन्छ । मुटु गह्रुंगो भएको आभास हुनु सँगै गहिरो पीडा को अनुभूति पनि हुन्छ । एसैलाई हृदयाघात भएको भनिन्छ ।

    रक्तनली का भित्ता मा विभिन्न कारण ले बोसो जम्दै जान्छन् । एसरी जमेको बोसो का कारण रक्तनलीहरु साँघुरिएर रक्तप्रवाह मा व्यवधान आउने हो । कहिलेकाहीं रक्तनली का भित्ता मा थुप्रिएका बोसो का इनै ढिकाहरु त्यहाँ बाट उप्किएर अगाडी बढ्न र रक्तनली लाई पूरै थुन्न पनि सक्छन् । एसरी रगत थुनिँदा मुटु को जुन भाग मा त्यो रक्तनली पुगेको हुन्छ त्यो भाग मा रहेका कोषहरु बिस्तारै मर्न थाल्छन् । यदि समय मै उपचार गरियो भने र रक्तप्रवाह लाई पुनः सुचारु बनाउन सकियो भने ती कोषहरु लाई मर्नबाट जोगाउन सकिन्छ ।

    विश्व स्वस्थ्य संगठन का अनुसार, हृदयाघात का बिरामी विकसित मुलुक को तुलना मा नेपाल जस्ता गरीब तथा विकासोन्मुख देश का युवा मा धेरै देखिने गरेको छ । विश्व स्वास्थ्य संगठन ले गरेको एक प्रक्षेपण अनुसार दक्षिण एशिया मा सन् २०२० सम्म मा मुटुरोग महामारीका रूपमा फैलिने छ ।

    अहिले नेपालको सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १७ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ।

    विश्व मुटु महासंघका अनुसार मुटुरोग का कारण विश्वभर वर्षेनि १ करोड ८० लाख मानिस को मृत्यु हुने गर्छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी विकासोन्मुख देशका विपन्न वर्ग का जनता पर्छन् ।

    हृदयाघात र आकस्मिक हृदयगति बन्द हुनु दुई अलग कुरा हुन् । हृदयाघात लाई डाक्टरी भाषा मा हर्ट एट्याक (Heart Attack) वा मायोकार्डियल इन्फार्कसन (Myocardial Infarction, MI) भनिन्छ भने आकस्मिक हृदयगति बन्द हुनु लाई सडेन कार्डियाक एरेस्ट (Sudden Cardiac Arrest, SCA) भनिन्छ । हृदयाघात मा मुटु को मांसपेशी मा रगत को आपूर्ति नहुने समस्या प्रमुख हो भने आकस्मिक हृदय गति बन्द हुनुमा मुटुलाई चल्न उत्प्रेरित गर्ने विद्युतीय स्पन्दन रोकिनु प्रमुख कारण हो ।

     

    जोखिम बढाउने कारक तत्त्वहरु :

    हृदयाघात को जोखिम लाई बढाउने तत्त्वहरु दुई प्रकार का छन् – १. सुधार गर्न नसकिने र २. सुधार गर्न  सकिने । दुवै किसिम का कारक तत्त्वहरु लाई तल उल्लेख गरिएके छ –

    • उमेर : सबै उमेर समूहका मानिस लाई हृदयाघात हुन सक्ने भए पनि उमेर को वृद्धिसँगै एसको जोखिम पनि बढ्दै जान्छ । यो हामीले सुधार गर्न नसकिने कारक तत्त्व हो ।
    • लिङग : मस्तिष्काघात जस्तै हृदयाघात पनि महिला लाई भन्दा पुरुष लाई हुने सम्भावना बढ्ता हुन्छ।
    • आनुवंशिकी : यदि परिवार मा कसैलाई हृदयाघात भएको थियो भने हृदयाघात को जोखिम धेरै हुन्छ ।
    • धूमपान : धूमपान नगर्ने मा भन्दा गर्नेमा हृदयाघात हुने सम्भावना दुगुना हुन्छ । यो हामीले सुधार गर्न सकिने कारक तत्त्व हो ।
    • रगत मा कोलेस्टेरोल को मात्रा : यदि रगत मा एलडीएल कोलेस्टेरोल को मात्रा उच्च छ भने मुटु रोग हुने सम्भावना सँगै हृदयाघात को सम्भावना पनि धेरै हुन्छ ।
    • उच्च रक्तचाप : उच्च रक्तचाप का कारण ले मुटु लाई रगत तान्न र फाल्न बढ्ता परिश्रम गर्नु पर्छ जसले गर्दा उसलाई धेरै पोषण र अक्सिजन को आवश्यकता हुन्छ जुन को कमी ले हृदयाघात हुने सम्भावना मा वृद्धि हुन्छ ।
    • मधुमेह : यदि मधुमेह छ र तेसको उचित नियन्त्रण हुन सकेको छैन भने पनि हृदयाघात हुने सम्भावना सँगसँगै हृदयाघात बाट हुने क्षति बढेर जान्छ ।
    • मोटापा : यदि शरीर बढी मोटो भयो र त्यो मोटाई बढ्ता पेट मा केन्द्रित भयो भने पनि तिनमा मुटुरोग हुने सम्भावना सँगै हृदयाघात हुने सम्भावना मा पनि वृद्धि हुन्छ ।
    • निष्क्रिय जीवनशैली : निष्क्रिय जीवनशैली पनि मुटुरोग र सँगै हृदयाघात हुने सम्भावना बढाउने कारक तत्त्व हो । एसको सुधार गर्न सकिन्छ ।

     

    हृदयाघात का लक्षणहरु :

    • छाती को बीच मा वा बायाँतर्फ दुख्नु । कसैले कक्रक्क पारेर समाते जस्तो वा केही भारी वस्तु ले थिचे जस्तो महसूस हुनु । एस्तो दुखाई अचानक वा पटक पटक हुने ।
    • छाती मा भएको दुखाई को क्षेत्र बढेर गर्धन, ढाड, काँध, पाखुरा तथा बंगारा मा समेत महसूस हुनु । यो दुखाई लगातार भइरहन वा बीच बीच मा बिसाउन पनि सक्छ ।
    • छालाबाट चिल्लो पदार्थ धेरै निस्कनु । छाती वरिपरि वा अनुहार मा एस किसिम को चिल्लोपना देखिने हुन्छ ।
    • चक्कर आए जस्तो हुनु । दिमागै शून्य भएको महसूस हुनु । यहाँ सम्म कि बिरामी बेहोशी को अवस्था मा पुग्न पनि सक्छ ।
    • असामान्य रुप मा थाके जस्तो महसूस हुनु ।
    • चिड्चिड्ति पसिना आउनु । एस्तो पसिना निधार, छाती तथा पिठ्यूँ मा बढ्ता देखिन्छ ।
    • वाकवाकी लाग्नु र बान्ता हुनु । तर सबै हृदयाघात मा बान्ता नै हुन्छ भन्ने छैन । कतिपय हृदयाघातहरु मा देखिने लक्षणहरु अत्यन्त सामान्य हुन्छन् ।
    • मुटु को गति तिब्र हुनु र छाती मा धडकन को महसूस बढी हुनु ।
    • सास फेर्न समेत गाह्रो हुनु । सास को गति चाँडो हुनु ।
    • लगातार केही महिना देखि छाती मा दुखाई को महसूस हुनु पनि हर्ट अट्याक को पूर्व संकेत हुन सक्छ।
    • आकस्मिक हृदयगति बन्द (Sudden Cardiac Arrest, SCA) मुटु को अर्को समस्या हो जसमा मुटु को धडकन नै बन्द हुने स्थिति हुन्छ । एस्तो अवस्था मा बिरामी लाई बचाउन पनि मुश्किल पर्दछ ।

     

    हृदयाघात को निदान :

    सबै छाती का दुखाईहरु मुटुसँग सम्बन्धित हुँदैनन् । तर यदि अकस्मात् छाती कुनै कुरा ले थिचे जस्तो भएर दुख्यो र दुखाई सँगै चिड्चिड्ती पसिना आउन थाल्यो भने चाँडो भन्दा चाँडो अस्पताल पुग्ने कोशिश गर्नु पर्छ । अस्पताल मा डाक्टर ले हृदयाघात हो वा होइन निर्क्यौल गर्न निम्न परीक्षणहरु गर्ने छन् –

    • मुटु मा क्षति भए नभएको बुझ्न तथा मुटु को धडकन को अवस्था पत्ता लगाउन इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) गराउने छन् ।
    • मुटु को चाल लाई सोझै हेर्नका लागि इको अर्थात् इकोकार्डियोग्राफी को मद्दत लिन सकिन्छ ।
    • विभिन्न किसिम का रक्त परीक्षणहरु – जसमा मार्कर क्रिएटाइन किनेज- MB (CK-MB) तथा ट्रोपोनिन टी को स्तर मापन पनि पर्दछन् ।
    • एन्जिओग्राम : मुटु का आर्टेरीहरु मा काछ बाट तार घुसारेर यो परीक्षण गरिन्छ । एसमा तार को टुप्पा मा एक्सरे बाट हेर्न मिल्ने डाई पठाइएको हुन्छ । जसले गर्दा थुनिएको आर्टेरी र थुनिएको ठाउँ सजिलै देख्न सकिन्छ । आवश्यक देखेमा डाक्टर ले तेही तार मा बेलुन पठाएर त्यो रुकावट लाई खोल्न पनि सक्छन् ।

     

    हृदयाघात को उपचार :

    यदि हृदयाघात भएको छ भने जति सक्दो चाँडो अस्पताल पुग्ने र उपचार गराउने प्रयास गर्नु पर्दछ । हृदयाघात को शुरुका ४-५ घण्टा बिरामी का लागि स्वर्ण समय (Golden Hour) हो । तेसमा पनि शुरुको ९० मिनेट भित्र सम्बन्धित अस्पताल मा जान सके तेसको सहजतापूर्वक सफल उपचार हुन सक्छ । अस्पताल मा पुग्नासाथ डाक्टर ले हृदयाघात ले मुटुलाई भएको क्षति बाट जोगाउन निम्न उपचारहरु गर्न सक्ने छन् –

    • अक्सिजन दिनुपर्ने अवस्था देखिएमा तत्कालै अक्सिजन दिन सक्ने छन् ।
    • तत्काल राहत दिनका लागि रगत जम्न नदिने औषधि वा रक्तनली फुलाउने जस्ता औषधि पनि दिन सक्ने छन् ।
    • माथी निदान मा वर्णन गरे मुताबिक एन्जिओग्राम को सहायता ले बन्द भएको आर्टेरी खुलाउने प्रयास गर्ने छन् ।
    • धेरैजसो अवस्थामा थ्रंबोलाइसिस या पर्क्युटेनिएस कोरोनरी इंटरवेंशन (पीसीआई) को उपयोग गर्ने गरिन्छ ।
    • समस्या जटिल देखिएमा डाक्टर ले बाइपास शल्यक्रिया द्वारा मुटु मा रगत को आपूर्ति गर्नका लागि नयाँ रक्तनली को व्यवस्था गर्न सक्ने छन् ।

     

    रोकथाम :

    हृदयाघात मा भूमिका खेल्ने कारक तत्त्वहरु मध्ये उमेर, लिङ्ग र आनुवंशिक चरित्र लाई हामीले बदल्न चाहेर पनि बदल्न सक्दैनौं । तर हृदयाघात हुन बाट जोगिने अरु धेरै उपायहरु छन् जसलाई हामीले अवलम्बन गर्न सक्छौं र हृदयाघात बाट बच्न सक्छौं । ती मध्ये केही लाई तल उल्लेख गरिएको छ –

    • मोटोपन बढ्न नदिने ।
    • धूमपान नगर्ने र मद्यपान लाई पनि त्याग्ने ।
    • सक्रिय जीवनशैली अपनाउने । दैनिक आधा घण्टा जति समय योगाभ्यास का लागि छुट्याउने ।
    • स्वास्थ्यवर्द्धक र सन्तुलित भोजन लिने ।
    • रगत मा खराब कोलेस्टेरोल बढ्न नदिने ।
    • मधुमेह देखिएमा तत्कालै तेसको उपचार गर्ने र नियन्त्रण मा राख्ने ।
    • रक्तचाप छ भने पनि डाक्टर को सल्लाह मा नियमित औषधि सेवन गर्ने ।
    • बराबर छाती अपठेरो भई दुखेमा तुरुन्त मुटुरोग विशेषज्ञ लाई देखाउने र परामर्श लिने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper