परिचय :

    अस्थिमज्जा (हाडको मासी) मा उत्पन्न हुने क्यान्सरहरु रक्त क्यान्सर को समूह भित्र पर्दछन् । हाड को मासी रक्त कोष उत्पादन गर्ने अवयवका रुप मा चिनिन्छ । धेरै जसो रक्त क्यान्सरहरु सेता रक्तकण सँग सम्बन्धित हुन्छन् र तिनलाई ल्यूकेमिया भनिन्छ । सेता रक्तकणहरु रोगाणु सँग लड्ने रगत का घटक हुन् । रक्त क्यान्सर को असर अक्सिजन बोक्ने काम मा संलग्न राता रक्तकण मा पनि हुन सक्छ र चोटपटक बाट हुने रक्तस्राव लाई रोक्ने काम मा मद्दत गर्ने प्लेटलेट्स मा पनि हुन सक्छ ।

    जब हाड को मासी मा क्यान्सर बाट प्रभावित सेता रक्तकण को अनियन्त्रित र असाधारण वृद्धि हुन थाल्छ त्यो विस्तारै रक्तप्रवाहमा मिसिँदै जान्छ । जसले गर्दा रगतमा रोगसँग लड्ने क्षमता गुमाएका सेता रक्तकणको संख्यामा वृद्धि हुँदै जान्छ । सेता रक्तकणको अनियन्त्रित वृद्धिले हाडको मासीदेखि नै राता रक्तकण र प्लेटलेट्सलाई प्रतिस्थापित गर्दै जान्छन् र राता रक्तकण तथा प्लेटलेट्सको संख्यामा कमी आउँदै जान्छ । एस किसिमको कमीका कारण रक्ताल्पता (एनेमिया) तथा रक्तस्राव नरोकिने खालका समस्या देखा पर्न थाल्छन् ।

    सेता रक्तकणका पनि विभिन्न प्रकार छन् । क्यान्सरबाट जुन प्रकारका सेता रक्तकण प्रभावित भएका हुन्छन् त्यही आधारमा ल्यूकेमिया लाई लिम्फोसिटिक वा मिएलोसिटिक प्रभागमा विभाजन गरिएको छ । यी दुवै समूहहरु या त एक्यूट (शीघ्र वा छिट्छिटो बढ्ने) या क्रोनिक (दीर्घ वा पुरानो र विस्तारै बढ्ने) गरी पुनः दुई भागमा छुट्टयाइएको छ । यस हिसाबले ल्यूकेमियालाई चार प्रकारमा बाँड्न सकिन्छ :

    १. एक्यूट लिम्फोसिटिक ल्यूकेमिया (ए.एल.एल.)

    २. क्रोनिक लिम्फोसिटिक ल्यूकेमिया (सी.एल.एल.)

    ३. एक्यूट मिएलोसिटिक ल्यूकेमिया (ए.एम.एल.)

    ४. क्रोनिक मिएलोसिटिक ल्यूकेमिया (सी.एम.एल.)

    ल्यूकेमियाका यी समुच्च विभाजनका पनि अनेक प्रकार छन् ।

    रक्त क्यान्सर कुनै पनि उमेरमा हुन सक्छ । केही प्रकारका (ए.एल.एल.) रक्त क्यान्सरहरु बालबालिकाहरु मा बढ्ता देखिन्छ भने बाँकी प्रकारका (सी.एल.एल., ए.एम.एल., सी.एम.एल.) रक्त क्यान्सरहरु वयस्क मा बढ्ता भेटिने गरेको छ । रक्त क्यान्सरमा अरु क्यान्सरमा जस्तो कुनै अंगमा अवाञ्छित वृद्धि हुँदैन ।

     

    रक्त क्यान्सर उत्पन्न हुनुका जोखिमयुक्त कारणहरु :

    कसरी ल्यूकेमिया को जन्म हुन्छ भन्ने कुरा को यथार्थ प्रक्रिया अझै सम्म पत्ता लागिसकेको छैन। आनुवंशिक तथा वातावरणीय प्रभावले यस किसिम को क्यान्सर जन्माउनमा भूमिका खेलेको हुन्छ भन्ने अनुमान गरिएको छ । ती मध्ये केही कारणहरु यसप्रकार छन्

    • केमोथेरापी : अरु प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने केही प्रकारका केमोथेरापी रक्त क्यान्सरको कारण हुन सक्छन् ।
    • रासायनिक संसर्ग : बेन्जिन जस्ता औद्योगिक रसायनहरु सँग बढ्ता संसर्गमा रहनु ।
    • विकिरण : उच्च विकिरणको संसर्गमा रहनुले पनि रक्त क्यान्सर हुने सम्भावनामा वृद्धि हुन्छ ।
    • आनुवंशिक : डाउन्स सिन्ड्रोम जस्ता आनुवंशिक (जेनेटिक) रोगहरुमा पनि रक्त क्यान्सर को सम्भावना बढी हुन्छ ।
    • वंशानुगत : ल्यूकेमियाको वंशानुगत (हेरिडिटरी) इतिहास छ भने पनि यसको सम्भावना बढी हुन्छ ।

    सबै ल्यूकेमिया भएका मानिसहरुमा माथी उल्लेख गरिएका जोखिमयुक्त कारणहरु हुनै पर्छ भन्ने छैन र कतिपय मानिसमा माथी भएका कारणहरु हुँदैमा क्यान्सर उत्पन्न हुन्छ भन्ने पनि छैन ।

     

    लक्षणहरु :

    • सेता रक्तकण को रोगाणु सँग लड्ने क्षमता ह्रास हुने हुँदा रोगाणु को प्रवेश सँगै संक्रमण भएर ज्वरो, कम्प जस्ता लक्षणहरु देखिनु ।
    • थकान, झुँझलाहट, श्वासप्रश्वास मा असहजता जस्ता रक्ताल्पता का कारण हुने लक्षणहरु देखिनु ।
    • प्लेटलेट्स को कमीका कारण सानातिना चोटपटकमा पनि बढ्ता रक्तस्राव हुनु, बारम्बार नाथ्री फुट्नु ।
    • छाला मा राता धब्बा, नीलो डाम आदि देखा पर्नु ।
    • राती मा बढ्ता पसिना आउनु ।
    • हाड तथा जोर्नी दुख्नु ।
    • भोक नलाग्नु । तौल घट्नु ।
    • लिम्फनोडहरु (घाँटी, काखी, काछ आदिमा रहेका ग्रन्थी) सुन्निनु ।

     

    डाक्टर लाई कहिले भेट्ने ?

    जब रक्त क्यान्सर का लक्षणहरु अनिश्चित, अस्वाभाविक र स्थायी हुँदै जान्छन् र तपाईंलाई अपठेरो अनुभव हुन थाल्छ, तेतिखेर चिकित्सक को सल्लाह र सुझाव लिनुपर्ने हुन्छ । यदि तपाईंलाई पहिले पनि क्यान्सर थियो र पुनः माथीका लक्षण देखिए भने यथाशीघ्र डाक्टर को सहयोग लिनु जरुरी हुन्छ ।

     

    रोग निदान :

    ल्यूकेमिया को प्रकारका आधार मा विरामीमा देखा परेका चिन्हलक्षणहरु हेरेर, रक्त परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यदि क्यान्सर पुरानो भइसकेको छ भने रक्त परीक्षणबाटै हेर्नुपर्ने हुन्छ किनकि क्यान्सरको पुरानो अवस्था भनेको प्रायजसो लक्षणरहित अवस्था हो ।

      • भौतिक परीक्षण : लिम्फनोडहरु सुन्निएको छ कि छैन भन्ने कुरा घाँटी, काखी छामेर तथा कलेजो र फियो फुले नफुलेको पेटमा छामेर पत्ता लाग्छ ।
      • रक्त परीक्षण : रक्त परीक्षण ले असामान्य रक्तकणहरु को अत्यधिक संख्या छ छैन थाहा पाइन्छ । साथै रगत मा हेमोग्लोबिन र प्लेटलेट्स को मात्रा घटेकाे छ छैन पनि हेर्न सकिन्छ ।
      • अस्थिमज्जा परीक्षण : असामान्य सेता रक्तकणहरु को उपस्थिति निश्चय गर्न हाड को मासीबाट प्राप्त रसको परीक्षण तथा तन्तु परीक्षण (बायोप्सी) आवश्यक हुन्छ ।
      • विशिष्टीकृत आणविक तथा आनुवंशिक परीक्षण : क्यान्सर कोष माथी गरिने विशेष प्रकारका आणविक तथा आनुवंशिक परीक्षणबाट ल्यूकेमियाको प्रकार जान्न र उपचारका विधि पत्ता लगाउन सजिलो हुन्छ ।

     

    उपचार :

    रक्त क्यान्सर का प्रकार, रोगी को उमेर तथा क्यान्सरको अवस्था एवं जोखिमलाई ध्यान मा राखेर ल्यूकेमिया को उपचार का विविध उपायहरु प्रचलित छन् ।

    ल्यूकेमिया लाई तलका मध्ये कुनै एउटै वा बढी विधि अपनाएर उपचार गरिन्छ :

    • केमोथेरापी (औषधीय चिकित्सा) : विशेष प्रकार को कडा औषधि को प्रयोग गरेर क्यान्सर कोषहरु मार्नुलाई केमोथेरापी भनिन्छ । यस्ता औषधिहरु केही दिनको अन्तरालमा चक्रीय किसिमले दिइन्छ । केमोथेरापीले हाम्रा स्वस्थ कोषहरु मा समेत हानि पुर्याउनुका साथै कपाल झर्ने, पटक पटक संक्रमण हुने, कलेजोमा क्षति पुग्ने जस्ता दुष्प्रभाव देखिने सम्भावना हुन्छ ।
    • लक्षित प्रतिरक्षा प्रणाली तथा जैविक चिकित्सा : यी औषधिहरु ले केवल असामान्य क्यान्सर कोषहरुलाई मात्र लक्षित गर्ने हुँदा स्वस्थ कोषहरुमा अत्यल्प क्षति पुग्न गई विरामीलाई राहत मिल्ने सम्भावना हुन्छ ।
    • विकिरण चिकित्सा : एसमा एउटा निर्दिष्ट शक्ति (कडापन) भएको विकिरण को प्रयोग गरेर क्यान्सर का कोषहरु लाई मार्ने काम गरिन्छ ।
    • अस्थिमज्जा प्रत्यारोपण : यो रक्त क्यान्सरको विशिष्ट उपचार पद्धति हो । यसमा हाड भित्र को मासी (अस्थिमज्जा) लाई नै बदल्ने काम गरिन्छ । केमोथेरापी तथा विकिरण चिकित्साबाट मरेका कोषहरुका ठाउँमा नयाँ मासी प्रत्यारोपण गर्ने काम गरिन्छ ।
    • शल्य चिकित्सा : कतिपय परिस्थिति मा फुलेको फियो (स्प्लीन) लाई नै शल्यक्रिया गरी फाल्ने काम गरिन्छ ।

     

    ल्यूकेमियाका उपचारका क्रममा डाक्टरले विरामीलाई नियमित परीक्षणका लागि बोलाउने छन् । दिएका औषधि तथा विकिरण चिकित्साबाट उत्पन्न दुष्प्रभावको जाँच गरिरहनु पर्ने हुँदा यो आवश्यक छ । यदि बीचमै पनि कुनै समस्या आइपर्यो भने तपाईले आफ्नो डाक्टर अथवा नर्स लाई थाहा दिनु पर्छ । स्वास्थ्य रक्षा, खानपान तथा पुनर्परीक्षण का सम्बन्धमा तपाईंले डाक्टर को निर्देशन लाई हुबहु पालना गर्नु पर्छ । यसले उपचार का क्रम मा आउने जटिलता बाट बच्न पनि सहायता हुन्छ । केही जटिलताहरु यति गम्भीर हुन्छन् कि अस्पतालमै बस्नुपर्ने, रगत र रगतका अवयवहरु दिनुपर्ने हुन्छ र कहिलेकाहीं यो जटिलता बाँच्नै मुश्किल बनाउने खालको हुन्छ ।

    डाक्टरले उपचार पछि पनि फेरि क्यान्सरका फर्कियो कि भनेर जाँच गर्ने र रिपोर्ट हेर्ने गर्छन् । यदि क्यान्सर पुनः फर्किएको देखियो भने अरु कडा खालको केमोथेरापी, विकिरण चिकित्सा अथवा अस्थिमज्जा प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

    कुनै पनि प्रकारको क्यान्सर उपचारमा तपाईं र तपाईंको परिवारले डाक्टर वा नर्ससँग तलका कुराहरुका बारेमा बताउनु र छलफल गर्नु जरुरी हुन्छ, जसले डाक्टरलाई थप उपचारको सिलसिलामा मद्दत पुर्याउँछ :

    • आँफूले गरिरहेको उपचारबाट कस्तो मिलिरहेको छ ?
    • आँफूले गरिरहेको उपचारबाट कस्ता समस्या र दुष्प्रभाव (साइड इफेक्ट) देखिएका छन् ?
    • यो उपचारका अलावा अरु कुनै विकल्प सोच्नुभएको छ कि ?
    • यो उपचार नलिँदा के कस्ता जोखिम उठाउनुपर्ने हुन्छ ?

     

    सन् १९६० सम्म प्राणघातक रोग मानिने ल्यूकेमियामा विरामीहरु आजकल उपचारका कारण लामो समयसम्म बाँचेका छन् । एक्यूट लिम्फोसिटिक ल्यूकेमियाबाट ग्रसित ९० प्रतिशत बच्चाहरुले स्वास्थ्यलाभ गरिरहेका छन् भने झण्डै आधा जसो प्रचलित उपचारबाटै ठीक हुन्छन् । ल्यूकेमियाबाट ग्रसित वयस्कहरु को उपचार बच्चाको तुलनामा कम सहज भए पनि पहिले पहिले भन्दा अचेल सञ्चो भएका धेरै उदाहरणहरु छन् ।

     

    सम्बन्धित शीर्षकहरु :

    Cancer, Leukemia

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper