न्यून रक्तचाप (Hypotension)

संपरीक्षक डा. परिमल कोइराला, MBBS, M.D.

    परिचय :

    रक्तवाहिनी नली मा रक्तप्रवाह हुँदा नशा को भित्ता मा पर्ने दवाब लाई रक्तचाप भनिन्छ । एउटा वयस्क र स्वस्थ्य व्यक्ति को शरीर मा एसको मापन गर्दा माथिल्लो अंक १२०-१२५ र तल्लो अंक ७५-८० देखिन्छ । माथिल्लो लाई सिस्टोलिक र तल्लो लाई डायस्टोलिक रक्तचाप भनेर जानिन्छ भने एसलाई पारो सँग तुलना गरेर मिलीमिटर मा नापिन्छ । मुटु खुम्चँदा रगत मुटु बाट बाहिर हुत्तिन्छ र त्यो बेला नशा को भित्ता मा बढ्ता दवाब पर्दछ जसलाई सिस्टोलिक भनिन्छ र मुटु फुक्दा रगत मुटु भित्र तानिन्छ र त्यो बेला नशा को भित्ता मा सबैभन्दा कम दवाब पर्दछ जसलाई डायस्टोलिक भनिन्छ । रक्तचाप लेख्दा सिस्टोलिक शुरु मा र डायस्टोलिक पछि लेखिन्छ । दुई रक्तचाप का बीच मा छड्के धर्सो ले छुट्ट्याइन्छ । यही हिसाब ले सामान्य रक्तचाप लाई १२०/८० भनिएको हो । यदि रक्तचाप निरन्तर रूप मा १२०/८० भन्दा कम अर्थात् ९०/६० वा त्यो भन्दा कम भयो भने तेसलाई न्यून रक्तचाप को समस्या का रूप मा हेरिन्छ । लामो समय देखि बिस्तारै कम हुँदै गएको भन्दा एक्कासि तल झरेको अवस्था चिन्तनीय हो ।

    न्यून रक्तचाप अर्थात् हाइपोटेन्सन लाई अक्सर गरेर उच्च रक्तचाप लाई झैं गम्भीर समस्या का रूप मा हेरिँदैन । तर पनि निरन्तर रक्तचाप मा न्यूनता हुनु र तेसले दैनिक क्रियाकलाप मा प्रभाव पार्नु एउटा गम्भीर समस्या हो ।

    सानो उमेर मा रक्तचाप न्यून हुनु तेति चिन्तनीय विषय होइन तर प्रौढावस्था मा रक्तचाप को न्यूनता ले मुटु, मस्तिष्क जस्ता शरीर का महत्त्वपूर्ण अङ्गहरु मा रगत को पर्याप्त आपूर्ति हुन सक्दैन र विभिन्न समस्या देखा पर्न थाल्छन् । रगत को आपूर्ति मा कमी हुनु भनेको अक्सिजन देखि लिएर अन्य पोषक तत्त्व को आपूर्ति मा कमी हुनु हो ।

     

    कारण

    • न्यून रक्तचाप हुनुका पछाडी मुटु को गम्भीर रोग वा फोक्सो को समस्या जिम्मेवार हुन सक्छ ।
    • शरीर मा रगत को कमी हुनुले पनि रक्तचाप मा न्यूनता आउन सक्छ ।
    • डिहाइड्रेशन अर्थात् शरीर मा पानी को कमी ले पनि रक्तचाप मा कमी आउँछ ।
    • कुनै खाइरहेको औषधि को साइड इफेक्ट ले पनि रक्तचाप एक्कासि तल झर्न सक्छ ।
    • आन्तरिक रक्तस्राब, चिन्ता, डर आदि पनि न्यून रक्तचाप का लागि जिम्मेवार हुन सक्छन् ।
    • सुतेको बेला मा रक्तचाप कम हुन्छ ।
    • खाना खाए पछि पनि केही समय रक्तचाप कम हुने गर्छ ।
    • दिसापिसाब पश्चात् पनि रक्तचाप घट्ने गर्दछ ।

     

    लक्षण

    सामान्यतया हल्का न्यून रक्तचाप हुँदा लक्षणहरु देखिँदैनन् र तेसलाई समस्या का रूप मा पनि हेरिँदैन तर रक्तचाप बढी नै न्यून हुन गयो भने केही लक्षणहरु देखिन सक्छन् –

    • चक्कर लाग्नु ।
    • टाउको को पछिल्लो भाग गरुंगो भएको महसूस हुनु ।
    • हातगोडा चिसा हुनु ।
    • छाला को रंग रगत नभएको जस्तो देखिनु ।
    • छिटोछिटो तर सुस्त किसिम को श्वासप्रश्वास हुनु ।
    • अत्यधिक कमजोरी को अनुभव हुनु ।
    • आँखा अगाडी अँधेरो छाउनु वा धमिलो देख्नु ।
    • नाडी को गति छिटो हुनु ।
    • केही क्षण का लागि बेहोश जस्तो हुनु ।

     

    न्यून रक्तचाप को निदान

    न्यून रक्तचाप भएको हो वा होइन भन्ने जान्न का लागि विभिन्न पोजिशन मा बिरामी को रक्तचाप नापेर हेरिन्छ । रक्तचाप नाप्ने का लागि स्फिग्मोम्यानोमिटर को प्रयोग नै सबैभन्दा भरपर्दो मानिएको छ । यदि बिरामी मा न्यून रक्तचाप का लक्षणहरु देखिएका छन् र उसको रक्तचाप मापन गर्दा पनि ९०/६० वा त्यो भन्दा कम देखियो भने ऊ न्यून रक्तचाप को शिकार भएको स्पष्ट हुन्छ । तेसपछि रक्तचाप किन कम भयो भन्ने जान्नका लागि निम्न परीक्षण गर्नु पर्दछ –

    • रगत मा हेमोग्लोबिन, सोडियम तथा पोटाशियम को मात्रा ।
    • शरीर मा रगत को मात्रा को जाँच ।
    • मुटु तथा फोक्सो को जाँच । मुटु को भल्भ मा खराबी आउनाले पनि रक्तचाप अनियन्त्रित हुन सक्छ ।

     

    तत्कालीन उपचार

    रक्तचाप न्यून भएको पाइयो भने तत्कालै अपनाउनु पर्ने केही सावधानीहरु एसप्रकार छन् –

    • तुरुन्तै बस्ने वा सुत्ने ।
    • मुट्ठी कस्ने र फुकाउने तथा खुट्टा हल्लाउने जस्ता शरीर लाई क्रियाशील बनाउने व्यायाम गर्ने ।
    • नूनचिनीपानी वा कालो चिया पिउने ।
    • पिसाब लगाउने औषधि को सेवन ले पनि रक्तचाप घट्ने हुँदा त्यो पनि बन्द गर्ने ।
    • यदि उच्च रक्तचाप को सेवन गरिरहेको भए सो बन्द गर्ने ।

     

    उपचार

    न्यून रक्तचाप को उपचार गर्दा मुख्यतः न्यून रक्तचाप हुनुको कारण पत्ता लगाएर तेसको उपचार गर्ने प्रयास गरिन्छ । तर एत्तिकै रक्तचाप घटेको पाइएमा रक्तचाप लाई सामान्य बनाउन निम्न उपायहरु को अवलम्बन गरिन्छ –

    • शरीर मा पानी को मात्रा कम हुन नदिन रगत मा सोडियम, पोटाशियम, क्याल्सियम जस्ता पानी रोकेर राख्न सक्ने गुण भएका तत्त्वहरु बढाउने कुरा सेवन गराउने ।
    • विभिन्न किसिम का शारीरिक व्यायामहरु गर्ने ।
    • खानेकुरा मा नून को मात्रा बढाउने ।
    • एकैचोटि धेरै खानु भन्दा थोरै थोरै तर धेरै पटक खाने बानी बसाल्ने ।
    • रक्तचाप बढाउने खालका औषधिहरु को सेवन गराउने ।
    • धूमपान तथा मद्यपान त्याग्न लगाउने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper