गलफुलो वा हाडे (Mumps)

संपरीक्षक Dr. Jyoti Bhattarai, MBBS, ABIM (USA)

     

    परिचय :

    कान का फेद मा च्यापु का दुवै पट्टि वा एकापट्टि मात्र सुन्निएर फकुण्डो जस्तो देखिने रोग लाई गलफुलो भनिन्छ । एसलाई कतै कतै हाडे पनि भन्दछन् । अङ्ग्रेजी मा मम्प्स (Mumps) वा इपिडेमिक प्यारोटाइटिस (Epidemis Parotitis) नामले चिनिने यो रोग को मुख्य कारक भनेको मम्प्स नामक भाइरस हो । यो एक व्यक्ति बाट अर्को मा सहजै सर्ने भाइरल रोग हो ।

    हाम्रा दुवै गाला को तल्लो भाग मा प्यारोटिड ग्रन्थी रहेको हुन्छ । मम्प्स भाइरस को संक्रमण का कारण त्यो सुन्निने र दुख्ने अवस्था पनि आउँछ जसलाई हामी गलफुलो भएको भन्छौं । यो मानिस मा मात्र लाग्ने र मानिस मा मात्रै सर्ने रोग हो । यो रोग लागेका मानिहरूले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा हावाको माध्यमबाट वा बिरामीसँग को सम्पर्क बाट सीधै मम्प्स भाइरस सर्ने गर्दछ । भाइरस को संक्रमण भएको केही दिन पछि मात्रै यो रोग देखा पर्ने भएकाले हेर्दा निरोगी देखिए पनि मम्प्स भाइरस संक्रमित मानिस बाट पनि यो रोग सर्न सक्छ । साधारणतया एक पटक गलफुलो भइसके पछि हाम्रो शरीर मा हुने प्रतिरक्षा प्रणाली का कारण बाँकी जीवनभर का लागि यो रोग नलाग्ने हुन सक्छ । एसका विरुद्ध सन् १९६० देखि मम्प्स भ्याक्सिन का नाम मा खोप समेत दिँदै आइएको छ ।

     

    लक्षण :

    प्रायजसो गलफुलो देखापर्नु भन्दा पहिला मन्द ज्वरो आउने, टाउको दुख्ने र अप्ठेरो महसूस हुने जस्ता प्रारम्भिक लक्षणहरू देखिन्छन् । एसको लगत्तै एका तिर को वा दुवै तिर को प्यारोटिड ग्रन्थीहरू बिस्तारै सुन्निन थाल्छन् र पीडा पनि बढ्दै जान्छ । प्यारोटिड ग्रन्थीहरू सुन्निने, दुख्ने र ज्वरो आउने प्रक्रिया एक हप्ता सम्म चल्छ । एसका अन्य लक्षणहरू मुख सुक्खा हुने, अनुहारमा पीडा महसूस हुने र/वा कान दुख्ने, थकाई लाग्ने आदि हुन् र केही बिरामीहरू ले बोल्ने बेलामा समेत अप्ठेरो महसूस गर्ने गर्दछन् ।

    सामान्यतया भाइरस ले आक्रमण गरेको १५ दिन देखि १८ दिन भित्र लक्षणहरू देखापर्छन् र निको हुन ७ देखि १० दिन लाग्ने गर्दछ । हाडे का लक्षणहरू बालबालिका मा भन्दा वयस्कहरू मा जटिल हुने गर्दछन् । भाइरस को संक्रमण भएका मध्ये करीब एक तिहाई मानिसहरू मा धेरै कम लक्षणहरू देखापर्ने वा कुनै पनि लक्षण देखै नपर्ने पनि हुन सक्छ । यो रोग बढ्दै गएमा दिमागको बाहिरी खोलको संक्रमण (१५% मा), प्यान्क्रियाटाइटिस (४% मा), बहिरोपना (०.५% मा) को समस्या पनि हुन सक्छ । यो रोग लागेका धेरैजसो मा अण्डकोष सुन्निने र दुख्ने  हुन सक्छ र कोहीकोही मा एसले बाँझोपना समेत ल्याउन सक्छ । महिलाहरू को पनि ओभरी सुन्निने सम्भावना हुन्छ तर महिला मा भने एसले बाँझोपना को खतरा बढाउँदैन ।

     

    कारण :

    मम्प्स भाइरस इनभेलोप्ड सिङ्गल-स्ट्रान्डेड, लिनियर नेगेटिभ-सेन्स आरएनए भाइरस हो। पारामोक्सिभाइरस परिवार मा पर्ने यो भाइरस रुबेला भाइरस जेनस मा पर्दछ । हाडे रोग संक्रमित व्यक्ति को थुक, सिँगान वा खकार बाट सँगै नजीकै भएको श्वासप्रश्वास बाट एक व्यक्ति बाट अर्को व्यक्ति मा सर्ने गर्दछ । बिरामी ले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरू हावामा मिसिन्छन् र आँखा, नाक वा मुख हुँदै अर्को मानिस को शरीर मा प्रवेश गर्छन् । तेस्तै बिरामी को जुठो खानेकुरा वा पानी बाट पनि हाडे सर्न सक्छ । मम्प्स भाइरसले संक्रमित २०-४०% मानिसहरू लक्षण देखाउँदैनन् । तेसैले कुनै व्यक्ति थाहै नपाई यो भाइरस बाट संक्रमित भएर रोग सारिरहेको पनि हुनसक्छ ।

     

    निदान :

    यो रोग लागे पछि संक्रमित व्यक्ति को संसर्ग र सुन्निएको प्यारोटिड ग्रन्थी बाट रोगको पहिचान गर्न सकिन्छ । एकातिर को मात्र वा दुवैतिर को गाला भुक्क उठेको जस्तो देखिन्छ । त्यहाँ अठ्याउँदा दुख्छ ।  यद्यपि जब रोग को घटनाहरू कम भएको बेलामा भने एचआइभी, काक्साके भाइरस र इन्फ्लुएन्जाका कारण पराटिड ग्रन्थी सुन्निएको मान्नु पर्छ । इन्टेरोभाइरस जस्ता केही भाइरसहरू का कारण ले हुने एसेप्टिक मेनिन्जाइटिस का लक्षणहरू पनि हाडे का लक्षणहरू सँग मिल्दाजुल्दा हुन्छन् । सामान्य शारीरिक परीक्षण बाट पनि ग्रन्थीहरू सुन्निएको थाहा पाउन सकिन्छ । प्रायःजसो यो रोग को पहिचान गर्न कुनै किसिम को प्रयोगशाला परीक्षण गरिरहनु पर्दैन । यदि सामान्य परीक्षण बाट पक्का पहिचान हुन सकेन भने थुक वा रगत परीक्षण गरिन सक्छ । हालसालै हाडेको पक्का पहिचान गर्नको लागि रियल टाइम नेस्टेड पलिमराज चेन रियाक्सन (पिसिआर) प्रविधि को विकास भएको छ । स्यालिभरी ग्रन्थी सुन्निने अन्य अवस्थाहरूमा जस्तै हाडे रोग लागेको बेला मा पनि एमाइलेज इन्जाइम को सेरम लेभल प्रायःजसो बढेको हुन्छ ।

    पहिलो पटक हाडे भएका बिरामीहरु मा रगत मा आइजीएम एन्टिबडी को परीक्षण गर्नु सहज र प्रभावकारी हुनसक्छ । तर खोप लगाइसकेका वा पहिला रोग लागेर प्रतिरक्षा प्रणाली विकास भइसकेका मानिसहरू मा एस्तो परीक्षण ले यथार्थ नतीजा नदेखाउन पनि सक्छ ।

     

    उपचार तथा व्यवस्थापन :

    गलफुलो भाइरस का कारण हुने भएकाले र हालसम्म भाइरस को कुनै ‍औषधि नबनेको हुनाले गलफुलो रोग निको बनाउने कुनै सरल उपाय छैन । खालि यसको असर कम गर्नका लागि मात्र उपचार गर्नुपर्ने हुन्छ । सुन्निएर भएको पीडा कम गर्न घाँटी तथा अण्डकोषमा बरफ वा तातोले बेला बेलामा छोटो समयको लागि सेकाउने र दुखाई कम गर्न एसिटामिनोफेन (प्यारासिटामोल) तथा इबुप्रोफेन प्रयोग गर्न सकिन्छ । मनतातो नून पानी ले गार्गल गर्ने, नरम खाना खाने र प्रशस्त झोल वा तरल पदार्थ को सेवन गर्ने गर्नाले पनि यसका लक्षणहरूबाट राहत पाउन सकिन्छ। एस्पिरिन (एसिटाइलस्यालिसाइलिक एसिड) ले रेयेज सिन्ड्रोम को खतरा हुने भएकोले गलफुलो को उपचार मा एस्पिरिन को प्रयोग गरिँदैन । नसामा सिधै इम्युनोग्लोबुलिन पठाएर गरिने उपचार केही जटिलतामा मात्रै लाभदायक हुनसक्छ । अन्यथा यो रोग लागिरहेको बेला मा न त खोप ले काम गर्छ न त इम्युनोग्लोबुलिन ले । अवस्था बिग्रँदै गएर मेनिन्जाइटिस वा प्यान्क्रियाटाइटिस भयो भने अस्पताल मा भर्ना हुनु आवश्यक छ । गलफुलो रोग बाट संक्रमित करीब दश हजार बिरामी मा एक जना को मृत्यु भएको पाइएको छ ।

    साधारणतया मम्प्स भाइरस ले एकपटक आक्रमण गरे पछि मानिस को शरीर मा बन्ने प्रतिरक्षा प्रणाली का कारण जीवनभर को लागि यो रोग नलाग्ने हुन्छ । कसैकसै मा यो रोग को पुनः संक्रमण हुने सम्भावना पनि हुन्छ तर अत्यन्तै न्यून ।

    हालसम्म गलफुलो बाट एक व्यक्ति संक्रमित भइसके पछि उसबाट अन्य व्यक्ति मा सर्न नसक्ने बनाउने पनि कुनै उपाय छैन । हाँडे संक्रमित व्यक्ति मा लक्षण शुरु भएको दिन देखि पाँच दिन सम्म अत्यन्तै संक्रामक हुन्छ । तेसैले चिकित्सकहरू यो अवधिभर बिरामी लाई अन्य व्यक्ति को सम्पर्क मा नआउन सल्लाह दिन्छन् । यदि कुनै बिरामी अस्पतालमा भर्ना भएको छ भने पनि उच्चस्तरको सतर्कता (स्टान्डर्ड तथा ड्रप्लेट प्रिकसन) अपनाउनु आवश्यक हुन्छ । यदि स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति लाई यो रोग लागेको छ भने उसले पाँच दिन सम्म काम गर्नु हुँदैन ।

     

    जटिलता :

    हाँडेको संक्रमण भएका २५-४०% पुरुषहरूमा किशोरावस्था पार गरे पछि अण्डकोष मा पीडासहित सुन्निने समस्या देखापर्छ । यो समस्या मा सामान्यतया एकातिर को मात्र अण्डकोष (करीब १५-३०% अवस्थामा मात्र दुबै अण्डकोष सुन्निन्छ) सुन्निने गर्छ र प्रायजसो पराटिड ग्रन्थी सुन्निएको १० दिनपछि मात्र अण्डकोष सुन्निने गर्छ । हाल सम्म दर्ता गरिएको तथ्य अनुसार पराटिड ग्रन्थी सुन्निएको ६ हप्तापछि पनि अण्डकोष सुन्निएको पाइएको छ । यो समस्या पछि असामान्य परिस्थिति मा मात्र बच्चा उत्पादन गर्ने क्षमता मा कमी आउँछ र बाँझोपना हुनु दुर्लभ मान्निछ ।

     

    रोकथाम :

    हाडे बाट बच्न अपनाइने सबैभन्दा सरल उपाय यसका विरुद्ध को खोप मम्प्स भ्याक्सिन लगाउनु हो । यो खोप को आविष्कार अमेरिकी सूक्ष्म जीवशास्त्री माउरिस हिल्मन ले गरेका थिए । यो खोप छुट्टै वा दादुरा र रुबेला को खोप सँग (एमएमआर इम्युनाइजेसन) मिलाएर दिइन्छ । अमेरिकामा एमएमआर को सट्टामा एमएमआरभी प्रयोग गरिन्छ जसले थप ठेउलाबाट (भ्यारिसेला, HHV3) पनि बचाउँछ । विश्व स्वास्थ्य संगठन ले सबै देशहरूलाई बालबालिका लक्षित खोप कार्यक्रमहरूमा हाडेविरुद्ध को खोपलाई पनि समावेश गर्न सिफारिश गरेको छ । बेलायत मा नियमित रूप मा बच्चा १३ महिना को भए पछि मम्प्स भ्याक्सिन लगाइन्छ र पुनर्ताजगीका लागि बच्चा ३-५ वर्ष को भए पछि थप अर्को मात्रा दिइन्छ । एक अमेरिकी बालरोग अध्ययन संस्था अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स ले बच्चाहरू लाई एमएमआर भ्याक्सिन नियमित रूपमा १२-१५ महिना र ४-६ वर्ष र यदि पहिला दिइएको छैन भने ११-१२ वर्ष को उमेर मा दिन सुझाव दिएको छ । यो खोप को प्रभावकारिता झण्डै ८०% पाइएको छ । उपचार का क्रम मा विकसित देशहरू मा जेराइल लिन स्ट्रेन प्रयोग गरेको पाइन्छ तर यो स्ट्रेन गलफुलो को महामारी का बेला तेति प्रभावकारी देखिएको छैन । विकासोन्मुख देशहरूमा लेलिन्ग्राद- जग्रेब स्ट्रेन प्रयोग गर्ने गरिएको छ । जुन निकै प्रभावकारी देखिएको  छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper