गलगाँड (Goitre)

संपरीक्षक Dr. Jyoti Bhattarai, MBBS, ABIM (USA)

    परिचय

    घाँटी को अगाडी पट्टी देखिने घाँटी उक्सिएजस्तो वा सुन्निएजस्तो अवयव लाई गलगाँड भनिन्छ । घाँटी मा रुद्रघण्टी भन्दा मुनि अवस्थित थाइराइड ग्रन्थी मा बिकार उत्पन्न भयो र थाइराइड ग्रन्थी फुल्दै गयो भने घाँटी को एकातिर वा बीच मा मासुको डल्लो पलाएको जस्तो देखिन्छ । एसैलाई हामी गाँड निस्किएको भन्दछौं ।

    गलगाँड विभिन्न स्वरुप मा देखा पर्दछ । दायाँ वा बायाँ तिर मात्रै वा बीच भाग मा । सानो वा ठूलो । यसले मानिस को सौन्दर्य लाई घटाउने मात्र होइन यो एक स्वास्थ्य सम्बन्धी समस्या को द्योतक पनि हो । धेरै जसोले गलगाँड लाई रोग नठानेर शरीर को एक विकृति अर्थात् विकलांगता ठान्छन् जुन सत्य होइन । कहिलेकाहीं गलगाँड का कारण श्वासप्रस्वास मा कठिनाई तथा खानेकुरा निल्दा समस्या पनि महसूस हुन सक्छ ।

    कतिपय गलगाँड यति सामान्य हुन्छन् कि तिनलाई हात ले छामेर गिर्खा का रुप मा मात्रै फेला पार्न सकिन्छ । न तिनीहरु ले थाइराइड को कार्य मा कुनै उतारचढाव ल्याउँछन् न बाहिर बाट हेर्दा कुनै लक्षण देखाउँछन् ।

     

    कारण

    • आयोडिन को कमी : थाइराइड ग्रन्थी ले विभिन्न शारीरिक मेटाबोलिज्म लाई सहज बनाउन थाइरोक्सिन तथा ट्राइआयोडोथायोरिन हर्मोन पैदा गर्छ जसका लागि आयोडिन को दरकार पर्दछ । यदि हाम्रो दैनिक आहार मा आयोडिन को कमी हुँदै गयो भने यी हर्मोनहरु सही ढंगबाट उत्पादन हुन सक्दैनन् र रगत मा इनको परिमाण मा कमी हुँदै जान्छ । फलस्वरुप यो हर्मोन बढी पैदा गर्न का लागि थाइराइड ग्रन्थी ले धेरै परिश्रम गर्न खोज्छ, जसले गर्दा ग्रन्थी फुलेर आउँछ र गलगाँड को रुप मा बाहिर देखिन्छ । अध्ययन ले के देखाएको छ भने नेपाल जस्ता विकासोन्मुख मुलुकहरु मा करीब ९० प्रतिशत गलगाँड आयोडिन को कमीले हुने गरेको छ । खाने कुरा मा आयोडिन तथा सेलेनियम को कमी भयो भने गलगाँड हुने सम्भावना हुन्छ ।
    • हाम्रो आफ्नै रोगप्रतिरोध प्रणाली को समस्या का कारण ले पनि गलगाँड हुन सक्छ । विकसित मुलुकहरु मा हुने गलगाँड को मुख्य कारक तत्त्व यही हो । यो प्रायः हाशिमोटो थाइराइड रोग मा देख्ने गरिएको छ ।
    • हाइपरथाइराइडिज्म : बढ्ता सक्रिय थाइराइड ग्रन्थी का कारण पनि थाइराइड फुल्ने र गलगाँड देखिने समस्या हुन सक्छ ।
    • धुमपान : सूर्तिजन्य पदार्थ मा रहेको थायोसायनेट का कारण शरीर ले सहजतापूर्वक आयोडिन ग्रहण गर्न सक्दैन र थाइराइड बढ्ता सक्रिय हुन बाध्य हुन्छ ।
    • संक्रमण : कुनै रोग को संक्रमण का कारण हुने थाइराइडिटिस अर्थात् थाइराइड सुन्निने समस्या ले पनि गलगाँड देखिने हुन्छ ।
    • बिनाइन टयूमर : सामान्यतया यो समस्या होइन तर घाँटी मा यसको उपस्थिति ले एक त मानिस को सुन्दरता मा आँच पुग्दछ र अर्को यसको अवाञ्छित वृद्धिले श्वासप्रस्वास मा कठिनाई तथा थाइराइड ग्रन्थी लाई समेत दबाब दिने सम्भावना हुन्छ ।
    • आयोडिन को बढ्ता सेवन : जुन आयोडिन को कमी ले गलगाँड हुने सम्भावना अत्यधिक हुन्छ तेही आयोडिन बढ्ता सेवन गर्दा पनि गलगाँड को समस्या देखा पर्न सक्छ ।
    • विकिरण : घाँटी को विकिरण चिकित्सा गर्दा वा रेडियोधर्मी किरणहरु ले थाइराइड लाई क्षति पुर्याउँदा पनि गलगाँड देखा पर्न सक्छ ।
    • लिथियम र फिनाइलब्यूटाजोन : मानसिक चिकित्सा मा प्रयोग गरिने लिथियम र फिनाइलब्यूटाजोन युक्त औषधिहरु ले पनि थाइराइड को काम मा दखल पुर्याउन सक्छन् ।
    • थाइराइड क्यान्सर : प्यापिलरी थाइराइड क्यान्सर, लिम्फोमा, एनाप्लाष्टिक थाइराइड क्यान्सर आदि क्यान्सरहरु पनि गलगाँड का कारण हुन सक्छन् ।

    लक्षण

    गलगाँड को लक्षण भनेकै घाँटी को अघिल्तिर को भाग मा सुन्निए झैं पुक्क बाहिर उठेको अवस्था देखिनु हो । गलगाँड निस्कन खोज्दा आवाज मा मोटोपन आउन सक्छ । कसै कसैलाई एसका कारण सास फेर्दा तथा खानेकुरा निल्दा असहज हुन सक्छ । खाने कुरा निल्दा यो चलेको देखिन्छ ।

    निदान

    यसको निदान का लागि पनि खासै ठूला परीक्षणहरु आवश्यक पर्दैनन् । एक त बाह्य आँखा ले सजिलै देख्न सकिन्छ भने हात ले छामेर पनि महसूस गर्न सकिन्छ । गलगाँड हुनुको कारण पत्ता लगाउन का लागि केही परीक्षणहरु को सहायता लिने गरिन्छ-

    • थाइराइड को कार्यक्षमता को जाँच : यो भित्र रगत मा TSH, T3 तथा T4 को मात्रा पत्ता लगाउने जाँचहरु पर्दछन् ।
    • रेडियोधर्मी आयोडिन स्क्यान : रेडियोधर्मी आयोडिन को इन्जेक्शन दिएर गलगाँड को अवस्था र फैलावट पत्ता लगाउन यो परीक्षण को सहयोग लिन सकिन्छ ।
    • थाइराइड ग्रन्थी को अल्ट्रासाउण्ड स्क्यान गरेर गलगाँड को आकार पत्ता लगाइन्छ ।
    • यदि क्यान्सर भएको शंका भयो भने गलगाँड बाट सानो टुक्रा लिएर बायोप्सी परीक्षण गर्नु पर्ने पनि हुन्छ । यसले त्यो वृद्धि क्यान्सर हो होइन भन्ने पुष्टि गर्दछ ।

    उपचार

    गलगाँड को उपचार गलगाँड हुनुको कारण मा निर्भर गर्दछ । त्यसैले कारण अनुसार उपचार पनि फरक फरक हुन सक्छन् जसलाई निम्न बुँदा मा दिइएको छ-

    • यदि गलगाँड हुनुका पछाडी हाइपरथाइराइडिज्म को भूमिका रहेछ भने बिरामी लाई थाइराइड ग्रन्थी लाई केही निष्क्रिय पार्ने खाल का औषधि सेवन गराइन्छ ।
    • हाइपोथाइराइडिज्म का कारण भएको गलगाँड को उपचार मा जीवनभर हर्मोन आपूर्ति चिकित्सा को उपयोग गरिन्छ ।
    • यदि आयोडिन को कमी का कारण गलगाँड भएको रहेछ भने आयोडिनयुक्त नून, खानेकुरा तथा औषधि खुवाइन्छ ।
    • बिनाइन ट्यूमर तथा थाइराइड क्यान्सर लाई रेडियोविकिरण का सहायता ले आकार घटाउने र वृद्धि रोक्ने काम गरिन्छ ।
    • कतिपय अवस्था मा शल्यक्रिया गरेर अनावश्यक थाइराइड ग्रन्थी नै निकाल्न पनि सकिन्छ । शल्यक्रिया गर्दा इण्डोस्कोपिक प्रविधि को प्रयोग गर्न सकिन्छ जसले थोरै भाग मात्रै काटेर र कुनै दाग नदेखिन पार्न सहयोग गर्दछ ।

    गलगाँड को रोकथाम

    गलगाँड को समस्या आउनै नदिनका लागि निम्न उपायहरु अवलम्बन गर्नु पर्दछ-

    • सधैं आयोडिन युक्त नून को सेवन गर्ने ।
    • रेडियोधर्मी विकिरण बाट घाँटी लाई जोगाउने ।
    • घाँटी लाई हलुका तन्काउने खाल का व्यायामहरु गर्ने ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper