उच्च रक्तचाप (High Blood Pressure)

संपरीक्षक डा. परिमल कोइराला, MD

     

    परिचय :

    शरीर का सम्पूर्ण अङ्गहरु तथा कुना कुनासम्म का कोषहरु मा पोषक तत्त्व र अक्सीजन पुर्‍याउने काम रगत को हो । रगत लाई ती अङ्गहरु सम्म पुर्‍याउने र ती अङ्ग बाट तानेर फिर्ता ल्याउने काम मुटु को हो । मुटु ले आफूसँग भएको रगत लाई स्वयं खुम्चेर बाहिर धकेल्ने र बाहिर को रगत स्वयं फुकेर भित्र तान्ने काम गर्दछ । एसरी मुटु खुम्चने र फुक्ने गर्दा रक्तनलीहरु मा निरन्तर रगत बगिरहन पाउँछ जसलाई रक्तसंचार भनिन्छ ।

    मुटु बाट रक्तसञ्चार हुँदा रक्तनली को भित्ता मा पर्ने दबाब लाई रक्तचाप भनिन्छ । रक्तचापलाई मिलिमिटर अफ मर्करी मा नापिन्छ । माथिको रक्तचाप लाई सिस्टोलिक (जुन मुटु ले रगत धकेल्दाको अवस्थामा नशामा परेको दवाव हो) र तलको रक्तचाप लाई डायस्टोलिक (जुन मुटु फुक्दाको अवस्थामा नशामा परेको दवाव हो) भनिन्छ । सामान्यतया एउटा वयस्क व्यक्ति को रक्तचाप माथिल्लो १२० र तल्लो ८० हुनुपर्छ, जसलाई १२०/८० ले जनाइन्छ । रक्तचाप १४०/९० भन्दा बढी भएमा उच्च रक्तचाप भएको भनिन्छ ।

    विश्व स्वास्थ्य संगठन ले उच्च रक्तचाप लाई ‘नबोलीकन मार्ने हत्यारा’ अर्थात् ‘साइलेन्ट किलर’ को संज्ञा दिएको छ । कुनै लक्षण बिना नै हृदयाघात, मस्तिष्काघात तथा मिर्गौला फेल को अवस्था मा पुर्‍याउने भएकाले एसलाई ‘साइलेन्ट किलर’ भन्ने गरिएको हो ।  चिकित्सकहरू पछिल्ला दिन मा मानिस को खाने बानीमा आएको परिवर्तन, शारीरिक निष्कृयता, नून को अत्याधिक प्रयोग, जंकफुड र फास्टफुड खाने बानी, मानसिक तनाब, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचाप को समस्या बढ्दै गएको बताएका छन् । पछिल्ला सर्वेक्षणले पनि नेपालमा उच्च रक्तचापको बढ्दो अवस्था लाई पुष्टि गरेका छन् ।

    विश्व मा करीब १ अर्ब ५० करोड मानिस उच्च रक्तचाप बाट पीडित छन् । यी मध्ये १३ प्रतिशत मात्रै ले नियमित उपचार गराउँछन् । नेपाल जस्तो विकासोन्मुख देश का रक्तचाप का बिरामी ले गर्ने उपचार को दर यो भन्दा पनि कम रहेको छ । नेपाल मा सन् २०१७ मा गरिएको एक सर्वेक्षण ले उच्च रक्तचाप भएका मध्ये ८८.३ प्रतिशत ले उच्च रक्तचाप नियन्त्रण को औषधि नखाएको देखाएको थियो ।

     

    लक्षण :

    उच्च रक्तचाप हुनासाथ कुनै लक्षण देखिइहाल्छ भन्ने छैन । उच्च रक्तचाप हुँदाहुँदै पनि सामान्य जीवनयापन गरिरहेका मानिस को संख्या ठूलो छ । कुनै अन्य रोग को परीक्षण गर्न अस्पताल पुग्दा मात्रै उच्च रक्तचाप पनि भएको पत्ता लागेका घटनाहरु सर्वसामान्य भएका छन् । एति हुँदाहुँदै पनि कतिपय अवस्था मा उच्च रक्तचाप हुँदा केही लक्षणहरु देखिन सक्छन् जसलाई एसरी टिप्न सकिन्छ-

    • टाउको दुख्नु वा भारी हुनु ।
    • रिंगटा लाग्नु ।
    • हिंड्दा स्वाँस्वाँ हुनु ।
    • खुट्टा वा अनुहार सुन्निनु ।
    • नाक बाट रगत बग्नु ।
    • छाती दुख्नु ।
    • दम बढ्नु

     

    कारकतत्त्वहरु के के हुन् ?

    उच्च रक्तचाप हुनुका अनेक कारण छन् । करीब ५% उच्च रक्तचाप का केसहरु कुनै अन्य रोग का कारण भएका हुन्छन् । ती रोग को उपचार सँगै उच्च रक्तचाप पनि नियन्त्रण मा आउँछ । तर करीब ९५% स्पष्ट कारण नभएका उच्च रक्तचाप लाई इसेन्सियल हाइपरटेन्सन (Essential Hypertension) नामाकरण गरिएको छ । एसका कारण का बारे मा पूर्ण रुप मा जानकारी पाउन नसकिए पनि निम्न कुराहरु लाई एसका कारक तत्व का रुप मा लिइएको छ । उच्च रक्तचाप को जोखिम बढाउने कारक तत्वहरु मूल रुप ले दुई किसिम का छन् –

    • न्यूनीकरण गर्न नमिल्ने कारक तत्वहरु :
      • बढ्दो उमेर सँगै रक्तचाप बढ्ने देखिएको छ,
      • महिला मा भन्दा पुरुष मा उच्च रक्तचाप को समस्या धेरै हुन्छ,
      • जातिविशेष (काला जाति मा धेरै जोखिम),
      • महिलाहरु मा हुने हर्मोन को परिवर्तन का कारण ले पनि रक्तचाप को समस्या हुन्छ,
      • बाबु-आमा वा परिवार का सदस्य मा उच्च रक्तचाप भएको इतिहास आदि ।
    • न्यूनीकरण गर्न सकिने कारक तत्वहरु :
      • मोटोपना,
      • अत्यधिक मासु तथा अण्डा को सेवन (विशेष गरी खसी को मासु)
      • शरीर मा बोसो तथा कोलेस्ट्रोल को मात्रा ज्यादा हुनु,
      • धूमपान तथा मादक पदार्थ सेवन,
      • जंक फूड तथा फास्ट फूड को सेवन,
      • मिठाइँ अर्थात् गुलिया चीजहरु धेरै खानु,
      • निष्क्रिय जीवन शैली तथा नियमित व्यायाम को कमी,
      • घर तथा अफिस मा बढ्ता मानसिक तनाव हुने स्थिति,
      • धेरै नून सेवन गर्नु आदि ।

     

    उच्च रक्तचाप का कारण हुने जोखिम :

    उच्च रक्तचाप ले धेरै जटिल समस्या निम्त्याउँछ । झट्ट हेर्दा कुनै डरलाग्दो लक्षण नदेखिए पनि यसले निम्त्याउने धेरै रोगहरु ले मानिस को ज्यान पनि जान सक्छ । साथै भविष्यमा अशक्त जीवन बाँच्नु पर्ने अवस्था पनि आउन सक्छ । उच्च रक्तचाप ले-

    • हृदयाघात को जोखिम बढ्छ ।
    • मुटु को कार्यक्षमता मा ह्रास आई मुटु ले काम गर्न नसक्ने वा हर्ट फेल हुने अवस्था आउन सक्छ ।
    • मुटु सुन्निने, मुटु को चाल मा अनियमितता हुने, आकस्मिक मृत्यु आदि हुने जोखिम बढ्छ ।
    • मस्तिष्क को नशा मा रगत जम्न गई वा नशा फुटेर रगत पोखिन गई मस्तिष्काघात हुने र ज्यानै जाने या पक्षाघात हुने सम्भावना बढ्छ ।
    • मृगौला मा अनावश्यक दवाव पर्न गई मृगौला फेल हुने जोखिम बढ्छ ।

     

    निदान कसरी गरिन्छ ?

    उच्च रक्तचाप छ कि छैन भनेर थाहा पाउने सबैभन्दा भरपर्दो र सरल विधि भनेको स्फिग्मोम्यानोमिटर को सहायता ले रक्चताप को मापन गर्नु हो । एस यन्त्र अन्तर्गत एउटा हावा भर्ने कपडा ले मोडिएको थैलो, भल्भ जडित हावा भर्ने प्लाष्टिक को बल्ब, प्रेसर देखाउने यन्त्र र स्टेथेस्कोप पर्दछन् । रक्तचाप नाप्दा कपडा ले मोडिएको थैलो लाई पाखुरा मा बेरिन्छ र हावा भर्ने बल्ब को सहायताले हावा भरिन्छ । सँगसँगै कुहिना को अगाडी को भाग मा स्टेथेस्कोप को चेस्ट पिस राखिन्छ । हावा भर्दै जाँदा पाखुरा मा भएको दवाव का कारण ब्राचियल आर्टेरी बन्द हुन्छ र स्टेथेस्कोप बाट आवाज सुनिन पनि बन्द हुन्छ । तेस बेलामा प्रेसर गज मा देखिएको अंक ले सिस्टोलिक रक्तचाप जनाउँछ । तेसपछि हावा भर्ने बल्ब सँगैको भल्भ लाई बिस्तारै खोल्दा धुकधुक को आवाज सुन्न थालिन्छ । हावा बिस्तारै निस्कँदै गर्दा पुनः फेरि एउटा क्षण आउँछ जब आवाज सुन्न छाडिन्छ । तेस बेलामा प्रेसर गज मा देखिएको अंक ले डायस्टोलिक रक्तचाप जनाउँछ ।

    बालक देखि किशोरावस्था सम्म रक्तचाप तिब्रता सँग बढ्दै गएको हुन्छ । तर युवावस्था देखि वृद्ध होउन्जेल तेति धेरै अंकले रक्तचाप मा वृद्धि हुँदैन । एउटा प्रौढ व्यक्ति को रक्तचाप १२०/८० हुनु सामान्य हो । तर   लामो समय देखि १४०/९० वा त्यो भन्दा पनि बढी भइरह्यो भने तेसलाई उच्च रक्तचाप मानिन्छ ।

    Image result for blood pressure

    उपचार :

    यदि उच्च रक्तचाप छ र सँगसँगै उच्च रक्तचाप का कारण समस्या पनि महसूस भएको छ भने डाक्टर ले बिरामी को उमेर, रक्तचाप को अंक र अन्य परीक्षण मा बिरामी को अवस्था हेरेर रक्तचाप लाई नियन्त्रण गर्ने औषधि दिने छन् । सँगसँगै डाक्टर ले खानपीन का बारे मा पनि सल्लाह दिने छन् । रक्तचाप का बिरामीहरु नियमित रुप मा डाक्टर को सम्पर्क मा रहिरहनु आवश्यक हुन्छ ।

    उच्च रक्तचाप देखिए पछि औषधि सेवन गर्नु भन्दा अगाडी केही महत्वपूर्ण जाँच गर्नुपर्छ । खाली पेटमा सुगर र कोलेस्टेरोल को जाँच, पिसाबमा प्रोटिन र क्रियटिनीन को जाँच, मुटु जाँच (इसिजि र इको), आँखा जाँच र टिसि/डिसी/हेमोग्लोबिन को जाँच आदि परीक्षणहरु आवश्यक छन् ।

    रक्तचाप घटाउनका लागि दिइने औषधिहरु मा निकै किसिम का औषधिहरु बजार मा पाइन्छन् । बिरामी को अवस्था हेरेर डाक्टर ले पिसाब लाग्ने औषधि पनि दिन सक्छन् । नशा फुकाउने औषधि वा बिटा ब्लकर वा अल्फा ब्लकर वा एस इन्हिबिटर आदि प्रकृतिका औषधि मध्ये बिरामी लाई उपयुक्त औषधि दिने गरिन्छ । एसरी खाइने औषधि डाक्टर को सल्लाह बिना छाड्न र मात्रा घटबढ गर्न हुँदैन ।

     

    उच्च रक्तचाप का रोगीहरु को रहनसहन कस्तो हुनु पर्छ ?

    • यदि मोटो हुनुहुन्छ भने तौल घटाउनु आवश्यक छ ।
    • खानामा प्रशस्त फलफुल तथा तरकारी, बोसो कम भएका दुग्ध उत्पादन खानुहोस् तथा कम मात्रामा मात्र माछा-मासु, मिठाइहरु र प्रशोधित खानेकुराहरु र बजारका खानेकुराहरु खानुहोस् ।
    • नून कम खानुहोस् (औसत मा दिनमा प्रति व्यक्ति५ ग्राम भन्दा कम नून) ।
    • दिन को कमसेकम ३० मिनटशारीरिक व्यायाम गर्नुहोस् (छिटो छिटो हिड्ने, दौडने, उफ्रने वा अन्य त्यस्तै व्यायाम) ।
    • मादक पदार्थ को सेवन लाई घटाउनुहोस् ।
    • धूमपान नगर्नुहोस् ।
    • खानेकुरा मा करेलो प्याज लहसुन अदुवा आदि समावेश गर्नुहोस् ।

     

    नून कम कसरी गर्ने ?

    एकैपटक नून को मात्रा ज्यादै कम गर्न गार्हो हुन्छ र तेसो गर्दा स्वास्थ्य लाई पनि नराम्रो हुन सक्छ । नून लाई बिस्तारै घटाउँदै लैजान सकिन्छ । ताजा तरकारीहरु, नूनरहित मसलाहरु, कागती वा अन्य अमिलो पदार्थ जस्तै चूक अमिलो, भिनेगार को प्रयोग नूनका विकल्पका रुप मा गर्न सकिन्छ । नून को स्वाद मानिस को जिब्रो का लागि प्राथमिक स्वाद हैन । तसर्थ केही हप्ता नून कम गर्न सके जिब्रो लाई बानी पार्न सकिन्छ । र नून कम गर्नुको मतलब तपाईँले अलिनो नै खानुपर्छ भन्ने हैन ! ताजा फलफूल तथा तरकारीहरु मा नून को मात्रा तुलनात्मक रुप मा कम हुन्छ । माथी भने जस्तै नून को मात्रा कम गर्ने बाहेक एस्ता खानेकुरा सेवन गर्नाले उच्च रक्तचाप लाई नियन्त्रण गर्न थप मद्दत पुग्छ ।

     

    उच्च रक्तचाप बाट बच्न के गर्ने ?

    उच्च रक्तचाप को समस्या आउन दिनु भन्दा शुरु मै विचार पुर्याएर तेस्तो अवस्था आउनै नदिनु राम्रो हो । तेसका लागि निम्न बमोजिम आफ्नो बानी मा सुधार ल्याउनु आवश्यक छ-

    • सक्रिय जीवनशैली अपनाउने ।
    • बेला बेला मा रक्तचाप जाँच गराई रक्तचाप को अवस्था कस्तो छ पत्ता लगाउने ।
    • नून चिनी जस्ता कुराहरु कम गर्ने ।
    • रातो मासु अण्डा को सेवन कम गर्ने ।
    • मादक पदार्थ सेवन नगर्ने ।
    • जंक फूड र फास्ट फूड को सेवन कम गर्ने ।
    • भुटेको, तारेको जस्ता बढ्ता चिल्ला खानेकुरा नखाने ।

     

    रक्तचाप सँग सम्बन्धित जान्नै पर्ने कुरा :

    • रक्तचाप नियन्त्रण नभएको मानिस ले रक्सी सेवन गरेमा मस्तिष्काघात हुने सम्भावना बढ्ता हुन्छ ।
    • मधुमेह भएका मानिस मा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।
    • उच्च रक्तचाप देखिने बित्तिकै औषधि शुरु गरिहाल्नु पर्छ भन्ने छैन । डाक्टर को सल्लाहअनुसार औषधि सेवन सकिन्छ र दैनिक रुप मा एउटै समय मा औषधि खाने बानी बसाल्नु पर्छ ।
    • औषधि आफू खुशी छाड्नु हुँदैन । खाइरहेको औषधि बिना डाक्टरी परामर्श बीच मै छाड्दा मस्तिष्काघात र हृदयाघात हुने सम्भावना बढी हुन्छ ।
    • रक्तचाप को औषधि सेवन गर्दा मुटुरोग विशेषज्ञ को सल्लाह लिनु उपयुक्त हुन्छ ।
    • जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रण मा आएमा विशेषज्ञ को निगरानी मा औषधि बन्द गर्न सकिन्छ ।
    • उच्च रक्तचाप भएका महिला ले परिवार नियोजनको अस्थायी साधन मा हर्मोनल विधि को विकल्प खोज्नु पर्छ ।
    • गर्भवती महिला लाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ ।
    • २० वर्षभन्दा कम उमेर मा देखिने उच्च रक्तचाप लाई सेकन्डरी हाइपरटेन्सन भनिन्छ । एसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ ।
    • पोटासियम बढी भएको खानेकुरा ले रक्तचाप घटाउँछ । सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूल मा पोटासियम बढी पाइन्छ ।
    • नियमित रक्तचाप जाँच गराउने बानी हुनुपर्छ ।

Tags

यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्

* Enter Name* Enter Email Address* Enter Message

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper